काठमाडौं, साउन ९ । पूर्वमन्त्री श्याम सुन्दर गुप्ताविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुझाएको अनुसन्धान प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिल कार्यालय सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको हो ।
गुप्ताविरुद्ध यसअघि अपहरण तथा शरीर बन्धकको मुद्दा पनि चलेको थियो । अहिले गुप्ताविरुद्ध ८५ लाखको बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ । प्रशान्त कुमार संघाईको जाहेरीपछि भएको अनुसन्धान गर्दा सम्पत्ति शुद्धीकरणको पनि कसुर देखिएको अभियोगपत्रमा उल्लेख गरिएको छ ।
गुप्ताविरुद्धको यसअघि दर्ता भएको अपहरण तथा शरीर बन्धकको मुद्दा उच्च अदालत पाटनले उनीविरुद्ध १० वर्ष कैद र १ लाख जरिवानाको फैसला सुनाएको थियो । गुप्ताले अपहरण कसुरका साथै सम्बद्ध कसुरबाट फिरौतीको रुपमा रकम असुलेको आरोप लगाइएको छ । ८५ लाख रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेपछि उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको पनि मुद्दा चलाइएको हो ।
‘पवनकुमार संघाईको अपहरण गरी फिरौती लिने मनसायले अपहरण गरी ८५ लाख फिरौतीसमेत लिई अशोक लामासमेतलाई चार लाखका दरले रकम दिई पवन कुमार अग्रवालको सुनचाँदी पसलबाट १७ लाख ३० हजार बराबरको गरगहना समेतखरिद गरेको देखिन्छ’ अभियोगपत्रमा उल्लेख गरिएको छ । अभियोग पत्रमा उल्लेख भएका आकाश लामा लगायत व्यक्तिकै सहयोगमा ६ पुस २०६८ मा गुप्ताको योजनामा संघाईको अपहरण भएको थियो ।
गुप्ताविरुद्ध सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ३ को उपदफा (१) (क), (ख) र (ग) तथा उपदफा (२), (३) कसुर गरेको भन्दै मुद्दा दायर गरिएको छ । गुप्ताको नाममा रहेका बा २ च ९४५४ र बा ६ च ९१०६ नम्बरका गाडीसमेत जफत गर्न मागदाबी गरिएको छ । नेपाल सद्भावना पार्टीका अध्यक्षसमेत भइसकेका गुप्ता आपूर्ति मन्त्री भइसकेका व्यक्ति हुन् । उनी अहिले नख्खु कारागारमा छन् ।

























