तस्कर, मधेश प्रदेश

रौतहटमा तस्करीको काठ बरामद, वन कर्मचारीको मिलोमतोमा तस्करीको आरोप

नवलपुर टुडे
२०८१ साउन ९ | मध्यान्ह ०७:०४ बजे

रौतहट । रौतहटको गुजरा नगरपालिका–३ स्थित सिम्री ईलाकामा बुधबार तस्करले लैजान लागेको सालको गोलिया सशस्त्र प्रहरी र वनको संयुक्त गस्ती टोलीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लक्ष्मीनिया र सवडिभिजन वन कार्यालय जंगलसहियाबाट खटेको संयुक्त टोलीले रौतहट र बाराको सीमामा पर्ने धन्सार खोला नजिक जंगलबाट चोरी कटान गरी झाडीमा लुकाइराखेको अवस्थामा १२ वटा गोलिया सालको काठ बरामद गरेको सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईंले बताए ।

काठ कसले र कहाँ लैजान लागेको भन्ने यकिन भएको छैन । त्यस क्षेत्रमा लामो समयदेखि काठ तस्करी हुँदै आएको छ । वन कर्मचारीको मिलोमतोमा काठ तस्करी हुने गरेको आरोप लाग्दै आएको छ ।

डिभिजन वन अधिकृत शैलेन्द्र मिश्रले वन कर्मचारीको मिलोमतोमा तस्करी हुने गरेको भन्ने आरोप झुठो भएको दाबी गरे । बुधबार बरामद काठको बजार मूल्य १ लाख ८५ हजार पर्ने वनका कर्मचारीले बताए ।

कमेन्टहरु