देश

बाँकेमा एसपी रानाका घुमुवा र प्रहरीको झगडाले हतकडीसहित भागे तस्कर, खोजिकार्य जारी

जगत ठाडा मगर
२०७८ असार ९ | मध्यान्ह ०३:०३ बजे

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको मोवाईल गाडीमा रहेका प्रहरीले गत बैशाख तेस्रो साता राती बाँकेको हिरमिनियाबाट सालको काठसहित एक जनालाई नियन्त्रणमा लिए । अवैध ५ थान सालको काठसहित हिरमिनियाकै निसार खाँलाई मोवाईल गाडीमा रहेका प्रहरीले पक्राउ गरेका थिए ।

हिरमिनियामा काठ तस्कर खाँ पक्राउ परेको खबर केहीबेरमा बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओम बहादुर रानासम्म पुग्छ । उनले तत्काल सादा पोशाकका प्रहरी जवान मनिराम महर (जो एसपी रानाले रकम असुलीको लागि परिचालन गरेका प्रहरीका नाइके हुन्) लाई हिरमिनिया पठाउँछन् । त्यहाँ पुगेर उनले पक्राउ परेका खाँको पहिल्यै एसपी सापसँग सेटिङ भईसकेकोले काठ र खाँलाई छोड्न मोवाईल गाडीमा रहेका असईलाई अनुरोध गरे ।

मोवाईल गाडीमा रहेका असइले जवानको आदेश नमान्ने र आफु भन्दा उपल्लो तहबाट आदेश आउनुपर्ने बताएपछी महर र मोवाईल गाडीमा रहेका प्रहरीबीच केहीबेर विवाद हुन्छ । एसपी रानाले तस्कर छुटाउँन खटाएका प्रहरी र मोबाइल गाडीमा रहेका प्रहरीको विवाद भइरहेको मौका छोपेर पक्राउ परेका खाँ हतकडीसहित फरार हुन्छन् । प्रहरीको नियन्त्रणमा रहेका तस्कर हतकडीसहित भागेपछि प्रहरीको सातोपुत्लो गयो ।

फरार रहेका खाँलाई खोज्न जिल्ला प्रहरी कार्यालय बाँकेले आफु मातहतका सबै निकायलाई रातभर हिरमिनियामा परिचालन ग¥यो तर खाँ कतै भेटीएनन् । हतकडीसहित फरार भएका खाँ अहिले सीमा पारी भारतीय भुमिमा रहेका छन् । हतकडीसहित खाँ भारततिर पसेपछि यता बाँके प्रहरीमा हल्लीखल्ली हुन्छ । हतकडी फिर्ता ल्याउनको लागि तस्करसँग वार्ताको लागि सादा पोशाकका एक असईको नेतृत्वमा एसपी रानाले वार्ता टोली गठन गरे ।

उता भने भारतबाटै खाँले फोन गरि प्रहरी जवान महरले काठ तस्करीको सेटिङका लागी लगेको १ लाख ५० हजार, प्रहरीले बरामद गरेको मोटरसाईकल र प्रयोग गर्ने गरेको मोवाईल फोन फिर्ता गर्नुपर्ने माग राखे । आफुले राखेका माग पूरा भएपछि मात्रै हतकडी फिर्ता गर्ने सर्त अघिसारेपछी प्रहरी उनका हरेक सर्त मान्न तयार भयो । सर्त अनुसार बाँके प्रहरीले काठ तस्करीको सेटिङका लागी बुझेको १ लाख ५० हजार नगद रकम र उनीबाट बरामद भएका सबै सामान उनको घरमा बुझाएपछी मात्रै भोलीपल्ट बेलुका ४ बजे मात्रै खाँले हतकडी फिर्ता पठाए ।

बाँकेका एसपी रानाले बैशाखयता मात्रै रकम असुलीको लागि प्रहरी जवान महरको नेतृत्वमा तीन प्रहरी परिचालन गरेका थिए ।

किन तस्कर खाँलाई बचाउन चाहन्थे एसपी राना

आफ्नो कार्यालय मातहतको मोबाईल गाडीमा रहेका प्रहरीले आफैलाई १ लाख ५० हजार रकम बुझाएका काठ तस्करलाई नियन्त्रणमा लिएपछि एसपी रानालाई समस्या प¥यो । टोलीले उनीलाई मुचुल्का गरेर कार्यालय ल्याएपछि आवश्यक कारबाहीका लागि वन कार्यालय पठाउनुपर्ने बाध्यता थियो ।

तस्कर लाइनको लागि ठूलो रकम बुझाएका खाँले कारबाही परेको अवस्थामा एसपी रानाले सबै पोल खोलिदिन सक्थे । त्यही कुरा बुझेका एसपीले रानाले आफु निकटका घुमुवा महरको नेतृत्वमा तस्करलाई छुटाउँने जिम्मा दिएर खटाए । एसपी रानाको निर्देशन पाएका महराले खाँ छुटाउनको लागि मोबाइल गाडीमा रहेका प्रहरीलाई तल्लो स्तरको गाली गर्दै विवादमा उत्रिए ।

घटना बाहिर ल्याउँने प्रहरीलाई कारबाहीको धम्की

एसपी रानाले यो घटनाको सूचना पत्रकारलाई दिने प्रहरीलाई कारबाही गर्ने धम्की दिएपछि लामो समयसम्म घटना गुपचुप रह्यो । चार दिनअघि मात्रै यो घटनाबारे एक स्थानीयले मिसन टुडेलाई सामान्य सूचना दिए । सोही सूचनालाई आधार मानेर विभिन्न स्रोतसँग बुझ्दा घटना भएको पत्ता लागेको हो । यो घटना थाहा पाएका प्रहरीहरुलाई एसपी रानाले सूचना बाहिर लिक भएर जागिरबाट हात धुनुपर्नेसम्मको धम्की दिएका थिए । अझै सम्म पनि अधिकांश प्रहरीहरु यो घटनाबारे औपचारिक रुपमा बोल्न डराइराखेका छन् ।

रकम उठाउन छुट्टै घुमुवा

पहिलेदेखि नै जिल्ला प्रहरी कार्यालय बाँके मातहत सई बम रावलको नेतृत्वमा एक दर्जन बढी प्रहरीहरु सादा पोशाक परिचालन भएका थिए । तर उक्त टोलीलाई टोलीलाई नेपालगञ्जको ट्राफिक चोक र परसपुर चोक भन्दा तल जाने अनुमती छैन । एसपी रानाले सादा पोशाकका प्रहरीलाई तस्करीका कुनै सामान चेकजाँच वा नियन्त्रणमा लिए चुस्ता लगाएर आफु सामु सामेल हुन आदेश दिएका छन् ।

सई बम नेतृत्वको सादा पोशाकका अन्य प्रहरी को को कहाँ कहाँ गए भन्ने सूचना संकलन गर्नका लागी एसपी रानाले महरसँगै अन्य प्रहरी खटाएका छन । असुलीको मुख्य जिम्मा महरलाई छ भने बिभिन्न तहका सूचना संकलन गर्ने जिम्मा अन्य प्रहरीलाई छ । उनीहरु तीनै जनाको थाँतबास नाका नाकामा हुने गरेको छ । बाँकेको जमुनाहा, हिरमिनिया, खडैचा, साईगाउँ, बेलभार र राधापुर सैनिक तस्करी गर्नका लागी मुख्य नाका मानिन्छन ।

कमेन्टहरु