गत आर्थिक वर्षको साउन १ देखि २०८१ असार मसान्तसम्ममा जिल्ला प्रहरी तथा मातहतका सम्पूर्ण युनिटहरूले विभिन्न किसिमको अवैध सामानहरू बरामद गरी कुल ४ करोड ९१ लाख ९३ हजार चार सय ५६ रूपैयाँ राजस्व सङ्कलन गरेको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताए।
उक्त भन्सार छलीका समान ओसार पसार गर्न प्रयोग गरिएको २ ट्रक,४ बोलेरो ,२ टेम्पो,११६ मोटरसाइकल सहित १४९ सवारीसाधन बरामद गरी भन्सार कार्यालय गौर र आन्तरिक राजश्व कार्यालय पथलैयामा दाखिला गरिएको एसपी घिमिरेले जानकारी दिए ।
त्यस्तै ४४ जना तस्करलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको उल्लेख गरिएको छ।
हुन्डी कारोबार
हुन्डी कारोबारमा संलग्न ६ जनालाई पक्राउ गरी ३० लाख ६५ हजार छ सय ६० रुपैयाँ बरामद गरेको छ ।
त्यस्तै गत आर्थिक वर्षमा एक हजार ७७ वटा विभिन्न प्रकारको मुद्दा दर्ता भएको छ भने सात सय १५ जना आरोपी पक्राउ परेका थिए । सो मुद्दा मध्ये ६५२ फर्छ्यौट भएको छ।
त्यस्तै पाँच हजार ७७ ठाडो उजुरीमा चार हजार दुई सय वटा उजुरीको मिलापत्र भइसकेको छ।
सोही अवधिमा ३३ वटा लागु औषध मुद्दा दर्ता भएकोमा ४८ जना पक्राउ परेका थिए।
यसैगरी एक वर्षको अवधिमा अवैध हातहतियार तर्फ ११ थान विभिन्न प्रकारको हतियार र ८ जना मानिस पक्राउ परेका थिए।
ट्राफिकतर्फ दुर्घटना तथा राजश्व सङ्कलन
वर्षभरिमा सवारी नियम विपरीत चलेका २१ हजार ९० सवारीलाई ट्राफिक कारबाही गरी दुई करोड ,६९ हजार दुई सय ५० रुपैयाँ राजश्व सङ्कलन गरिएको छ । त्यस्तै ६७३ दुर्घटनामा ६३ जना मानिसको मृत्यु तथा एक हजार ६५ जना मानिस घाइते भएका थिए।
सोही अवधिमा विभिन्न स्थानमा गरिएको एक हजार ७३५ चेतनामूलक कार्यक्रममा ६८ हजार ४८५ जना सहभागी भएको जिल्ला ट्राफिक प्रमुख इन्स्पेक्टर सुशील आचार्यले बताएका छन्।
अवैध मदिरा र भट्टी नष्ट
जिल्ला भरीमा अवैध रूपमा सञ्चालित एक सय २६ रक्सी भट्टी नष्ट गर्नुका साथै,तयारी मदिरा–दुई हजार ९५लिटर, र कच्चा पदार्थ ६ हजार ८६० लिटर नष्ट गरिएको छ।
गत आवमा अनुचित लेनदेन मिटर ब्याजमा एक हजार पाँच सय ५७ मुद्दा दर्ता भएकोमा ४८ वटा मुद्दा मेलमिलापबाट टुङ्गो लागेको प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन् ।