वाग्मतीको मुख्यमन्त्रीमा कांग्रेसका बहादुरसिंह लामाले आज दाबी पेस गर्दै


मकवानपुर । वाग्मतीमा बहुमत सांसदको हस्ताक्षरसहित कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले सोमबार बिहान १० बजे प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी थियो । तर भागबन्डा र एमालेभित्रको विवादका कारण मुख्यमन्त्रीमा दाबी पेस हुन सकेन । प्रदेशमा रहेका १३ मन्त्रालयमध्ये कांग्रेसले मुख्यमन्त्रीसहित ८ र एमालेले ६ वटामा दाबी गर्दा समस्या उत्पन्न भएको छ ।
प्रदेश प्रमुख यादव शर्माले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न मंगलबार साँझ ५ बजेसम्म समय दिएका छन् । अघिल्लो सरकारमा एमालेले सम्हाल्दै आएका ५ मन्त्रालय एमालेले नै लिने र माओवादी केन्द्रसहित अन्य दलले लिएका मन्त्रालय आफूहरूले लिने कांग्रेसको प्रस्ताव छ । यसरी मन्त्रालयको भार सन्तुलन नहुने भएकाले थप मन्त्रालय दिनुपर्ने एमालेको अडान छ । एमाले संसदीय दल नेता जगन्नाथ थपलिया पार्टीको आन्तरिक छलफलका लागि भन्दै काठमाडौं गएपछि सोमबार निष्कर्ष निस्कन सकेन ।
कांग्रेस केन्द्रीय सदस्य एवम् सांसद कुन्दनराज काफ्लेले दुई दलबीच सहमति जुटाएर मंगलबार बिहान १० बजे मुख्यमन्त्रीको दाबी पेस गर्ने तयारी भएको बताए । ‘मन्त्रालयको भागबन्डाको विषयमा खासै समस्या छैन,’ उनले भने । केन्द्रीय समीकरणअनुसार वाग्मतीमा पहिलो पटक कांग्रेस नेतृत्वमा सरकार बन्न लागेको छ । ११० सदस्यीय प्रदेशसभामा कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसद छन्, जुन सरकार गठनका लागि पर्याप्त हो ।
आइतबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको हो ।























