अर्थ

गाउँपालिकाले आफु खुसी गरेको खर्च असुल उपर गर्नुपर्ने उल्लेख

रंजित चौरसिया
२०८१ असार ३० | बिहान ११:०३ बजे

बारा, असार ३० । स्थानिय तहमा निर्वाचित भएका पालिका प्रमुखहरु पालिकामा आएको सम्पुर्ण बजेट आफ्नै घरको बुझ्ने गरेका छन्। जसले गर्दा पालिकामा आएको सँघ र प्रदेश सरकारको अनुदान प्राप्त बजेट आफु खुसी खर्च गर्ने गरेका छन्। भने पालिकाबाट हुने जुनसुकै भुक्तानीमा निर्णय तथा निर्देशन दिने गरेको सर्वविदितै रहेको छ।

संविधानमा पालिका प्रमुखहरुलाई दिएको अधिकारलाई पालिका प्रमुखहरुले आफु खुशी सँचालन गर्न खोज्दा उक्त पालिकामा कार्यरत रहेको नेपाल सरकारको कर्मचारीहरु निरिह बनि भ्रष्टाचार कार्यमा काँधमा काँध मिलाएर हिड्ने गरेका छन्। जसको फलस्वरूप अख्तियार दुरुपयोग अनुसंधान आयोगले बिभिन्न पालिकाको पालिका प्रमुख सहित प्रशासकीय अधिकृत तथा लेखा प्रमुख माथि बिशेष अदालतमा रिट निवेदन दर्ता गराएको बिभिन्न सँचारमाध्यममा समाचार आउने गरेको पाईन्छ।

पालिका प्रमुखको निर्देशनमा कर्मचारीहरु भ्रष्टाचार गर्न बाध्य समेत हुने गरेको एक कारण नेपाल सरकारको समान्य प्रशासन मन्त्रालय रहेको छ। सामान्य प्रशासन मन्त्रालयले पालिका प्रमुखको सिफारिशमा हप्तैपिच्छे प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्ने तथा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदान गर्ने गरेकोले यस्तो हुने गरेको छ। जसको फलस्वरुप पालिकामा हाजिर भएका कर्मचारीहरु बाध्य भएर पालिका प्रमुखहरुको भ्रष्टाचारमा सहभागि हुने गरेको शँका उत्पन्न भएको छ।

सोहि अनुसार बाराको देवताल गाउँपालिका स्थानीय तहको दोस्रो निर्वाचनपछि निर्वाचित भएका गाउँपालिका अध्यक्ष उदय प्रसाद यादवले गाउँपालिकाको बजेट आफु खुसी खर्च गराएको महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेदनबाट प्रमाणित भएको छ।

गाउँपालिका अध्यक्ष यादवले आफु निर्वाचित भएको आर्थिक बर्षमा नै पदाधिकारीलाई दोहरो सुविधा,पदाधिकारी र कर्मचारीलाई मोवाईल बितरण गरीएकोले आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेदनमा १० लाख ८८ हजार ३५५ रुपैया असुल उपर गर्नुपर्ने उल्लेख गरेको छ।

महालेखापरीक्षक कार्यालयले लेखा परीक्षण प्रतिबेदनमा देवताल गाउँपालिकाले मधेश प्रदेशको स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्ध
ऐन,२०७७ को दफा ५ को अनुसूची १ बमोजिम निर्वाचित पदाधिकारीलाई सेवा सुविधामै मासिक रुपमा अतिथि
सत्कार तथा विविध खर्च भनि भुक्तानी दिनुपर्ने व्यवस्था छ । पालिकाले पदाधिकारीलाई मासिक रुपमा विविध खर्च भुक्तानी लिएपनि अतिथि सत्कार भनि पालिकामा बिल पेश गरी दोहोरो सुविधा लिएकोले असुल उपर गर्नुपर्ने उल्लेख गरेको छ।

उक्त प्रतिवेदन अनुसार गाउँपालिका अध्यक्ष यादवको निर्देशनमा वडा अध्यक्ष सतेन्द्र प्रसाद यादवलाई बिभिन्न खाजाको बिल राखि १६ हजार एक सय भुक्तानी दिएको छ। भने गाउँपालिका उपाध्यक्ष सितापतिलाई बिभिन्न खाजाको बिल राखि पहिलो पटकमा रु ३७ हजार दुई सय ५० , दोस्रो पटकमा रु ३९ हजार , तेस्रो पटकमा बजरंग होटलको बिल राखि रु १९ हजार पाँच सय र चौंथो पटकमा बिभिन्न खाजाको बिल राखि रु १३ हजार तिन सय गरी जम्मा एक लाख ९ हजार ५० रुपैया भुक्तानी गरीएको छ।

त्यस्तै बिभिन्न खाजाको बिल राखि वडा अध्यक्ष सँजय कुमारले एकमुष्ट नै रु एक लाख ४३ हजार एक सय , कार्यपालिका सदस्य ललिता देबि जयस्वारलाई रु २८ हजार र वडा अध्यक्ष सुरेन्द्र प्रसाद ३५ हजार भुक्तानी गरीएको छ।

पदाधिकारीहरुलाई दोहोरो सुविधा ( खाजा खर्च ) भुक्तानी दिएकोले लेखापरीक्षण प्रतिवेदनमा रु तिन लाख ३१ हजार दुई सय ५० असुल उपर गर्नुपर्ने उल्लेख गरीएको छ।

त्यस्तै गाउँपालिका अध्यक्ष उदय प्रसाद यादवले आफु बिकास प्रेमी जनप्रतिनिधिको रुपमा स्थापित हुन उपाध्यक्ष सितापति देबि यादवलाई रु तिन हजार दुई सयको सामसुङ बी ३१५ ई मोवाईल , रु ४८ हजारको वन प्लस नोर्ड सिएल २ ( ८/१२८ जिबी ) को मोवाईल र रु २८ हजार पाँच सयको रेडमि नोट ११ मोवाईल गरी तिन वटा मोवाईल उपलब्ध गराइएको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरीएको छ।

साथै वडा अध्यक्ष सँजय कुमारलाई रु ६५ हजारको वन प्लस नोर्ड २ टी ५ जी ( ८/१२८ जिबी ) मोबाईल, कार्यपालिका सदस्य रामपुजन पंडित कुम्हाललाई रु २३ हजारको रियल मी नार्जो आर एम एक्स ३४३० ( ४/१२८ जिबी ) मोबाईल, कार्यपालिका सदस्य ललिता देबि जैसवारलाई रु ३३ हजारको रियल मी नार्जो आर एम एक्स ३२८६ ( ६/१२८ जिबी ) मोबाईल, कार्यपालिका सदस्य सरस्वती देबीलाई रु २३ हजारको रेडमी नोट ११ ( ४ /६४ जिबी) मोवाईल , कार्यपालिका सदस्य किशुनदेव ठाकुर हजामलाई रु २८ हजार पाँच सयको रेडमी नोट ११ ( ६/१२८ जिबी ) मोबाईल, वडा अध्यक्ष रामकिशोर कुशवाहालाई रु ३३ हजारको एमआई रेडमी नोट ११ प्रो ५ जि ( ६/१२८ जिबी ) मोवाईल, ईन्जिनियर औलिक महम्मद दर्जीलाई रु ४७ हजारको सामसुङ ए ३३५ जि ( ८/१२८ जिबी मोबाईल, वडा अध्यक्ष सुरेश प्रसाद साहलाई रु ३७ हजारको ओपो एफ १९ प्रो परप्ल ( ८/१२८ जिबी )

मोबाईल ,वडा अध्यक्ष मनरुदिन मियाँ ठकुराईलाई रु ४५ हजार दुई सयको ओपो ए ७६ ( ८/१२८ जिबी ) मोबाईल , प्रमुख प्रशासकीय अधिकृतको लागि रु ४५ हजार दुई सयको ओपो ए ७६ ( ८/१२८ जिबी ) मोबाईल, वडा अध्यक्ष ललन कुमार यादवलाई ७१ हजार एक ९० रुपैयाको वन प्लस नोर्ड २ टी ( ८/१२८ जिबी) मोबाईल, वडा अध्यक्ष अरुण कुमार सिंहलाई रु २८ हजारको सामसुङ एफ २२ ( ६/१२८ जिबी ) मोबाईल र सम्पुर्ण कार्यपालिका सदस्यको लागि एक लाख ९८ हजार तिन सय १५ रुपैयामा २७ थान नोकिया ६३ मोवाईल सेट खरिद गरीएको प्रतिबेदनमा उल्लेख गरीएको छ ‌।

उक्त मोवाईल बितरण गरीएको रु सात लाख ५७ हजार एक सय पाँच रुपैया गाउँपालिकाले आफु अनुकुल खर्च गरेकोले असुल उपर गर्नुपर्ने उल्लेख गरेको छ।

यसरी देवताल गाउँपालिकाको गाउँपालिका अध्यक्ष उदय प्रसाद यादवले गाउँपालिकाको बजेटबाट पधाधिकारीलाई दोहोरो सुविधा, पधाधिकारी र कर्मचारीलाई मोवाईल बितरण गरेको रकम कसरी असुल उपर गर्ने छन्। साथै गाउँपालिका अध्यक्षको भ्रष्टाचारमा सहयोगी भुमिका राख्ने प्रमुख प्रशासकीय अधिकृत नविन श्रीवास्तवले असुल उपर गर्नुपर्ने आफ्नो जिम्मेवारी पुरा गर्छन भनि प्रश्न चिन्ह खडा भएको छ।

कमेन्टहरु