सिरहाको गोलबजारमा पाँच महिनामै सामान्य बाढीले बगायो पुलको बाँध


सिरहा । गोलबजार नगरपालिका-८ स्थित मैनावती नदीको पुलको बाँध बाढीले बगाएको छ । खोलामा असार २६ गते आएको सामान्य बाढीले पुलको दुवै तर्फको बाँध बगाएको हो । जसका कारण गोलबजार नगरपालिका-४ चोहर्वा र वडा ८ भाइजी टोलबीचको आवागमन बन्द हुन पुगेको छ । यो पुल गत फागुनबाट सञ्चालनमा आएको थियो ।
पुलको निर्माण भने २०७५ सालमै भएको थियो । तर नगरपालिकाले ठूलो नदीको बीचमा ३० फिट मात्र लम्बाई र ७ फिट मात्र उचाइको पुल बनाएपछि दुवैतिर पानी बग्ने भएकाले पुल सञ्चालनमा आउन सकेन । पुल अलपत्र बनेपछि स्थानीय अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासमा उजुरी हाले । उजुरीका आधारमा तत्कालीन मेयर देवनाथ साह र प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीलाई अख्तियारले बयानका लागि बोलायो ।
अख्तियारले बयानका लागि बोलाएपछि गोलबजार नगरपालिकाबाट अन्यत्र गइसकेका प्रमुख प्रशासकीय अधिकृत केसी पुनः गोलबजार नै सरुवा गराएर आए । उनी आउनासाथ गत पुस २९ गते हिउँदे नगरसभा गराएर मैनावती पुलको अधुरो काम पूरा गर्ने भन्दै ५० लाख बजेट जिनियोजन गराए । नगरपालिकाले गत फागुनमा अधुरो तथा उपयोगविहीन पुलको दायाँ र बायाँ बाँध हालेर सञ्चालनमा ल्यायो । तर, पाँच महिनामै सामान्य बाढीले बाँध बगाएपछि स्थानीय मात्र होइन, जनप्रतिनिधिसमेत आक्रोशित छन् ।
नागरिकका समस्या गर्ने नभइ पैसाको बर्बादी गर्ने उद्देश्यले काम भएपछि यस्तो हुनु स्वभाविक भएको वडा ८ का वडाध्यक्ष देवनारायण सिंह बताउँछन् । ‘हामीले पुल बनाउने बेला नै रोक्न खोज्यौं, बाँध हाल्ने बेला पनि टिक्दैन भन्यौं,’ उनले भने, ‘यसमा पैसाको बर्बादी बाहेक केही भएन । खोला ठूलो भएपनि पुलका नाममा कल्भर्ट बनाएर पैसा हजम गर्ने काम भएको र कानुनी कारवाही छल्न बाँधका नाममा राज्यको थप रकम नोक्सान गरिएको स्थानीय रमेश महतो बताउँछन् । यसको छानबिन हुनुपर्ने माग उनको छ ।
स्थानीयका अनुसार यो पुलको विषयमा आधा दर्जन उजुरी अख्तियारमा परेको छ । तर यसमा संलग्नहरूलाई अहिलेसम्म केही हुन नसकेको भन्दै स्थानीयले अख्तियारकै भूमिकाप्रति शंका व्यक्त गरेका छन् ।
‘यो खोलामा पुलका नाममा बजेटको दुरुपयोग गरिएको र चरम भ्रष्टाचार भएको नांगै आँखाले देखिन्छ,’ एक उजुरीकर्ताले नाम उल्लेख नगर्ने शर्तमा कान्तिपुरसित भने, ‘तर, अख्तियारले यसमा आफ्नो दायित्व निर्वाह गरेन ।’
गोलबजार नगरपालिकाका नगरप्रमुख श्याम श्रेष्ठले पनि त्यति ठूलो खोलामा त्यत्रो सानो पुल बनाउनु सरकारी रकमको दुरुपयोगबाहेक अरु केही नभएको स्वीकार गर्छन् । ‘त्यो आज न भोलि बग्नु नै थियो, बग्यो,’ उनले भने, ‘डिजाइनमै समस्या भयो ।’आफ्नो कार्यकालमा पुल निर्माण नभएकोले आफू जिम्मेवार नहुने र आफ्नो कार्यकालमा बाँधका लागि छुट्याइएको रकमको काम पनि नभएको उनको दाबी छ । अख्तियारमा मुद्दा परेर विवादित विषय भएकोले हामी बाँधका लागि छुट्याइएको बजेटलाई अर्कै शीर्षकमा प्रयोग गरेको दाबी उनले गरे ।
पुलको विषयमा अख्तियारले चाँसो लिएपछि प्रशासकीय अधिकृत र तत्कालीन उपभोक्ता समितिले निजी खर्चमा बाँध हालेको उनको भनाइ छ । यस विषयमा बुझ्न गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीलाई पटकपटक प्रयास गरेपनि सम्पर्क हुन सकेन ।






















