चितवनमा माइक्रो बस दुर्घटना हुँदा सात जना घाइते


चितवन, असार १६ । चितवनमा माईक्रोबस दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
भरतपुर महानगरपालिका-१ पानी ट्याङ्की ओरालोस्थित नारायणगढ मुग्लिन सडकखण्डमा आज बिहान सवा ६ बजे मुग्लिनतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ज ०१८२ नम्बरको ईलेक्ट्रिक माईक्रोबस आफै अनियन्त्रित भई दुर्घटना हुँदा सातजना घाइते भएका हुन् ।
घाइते हुनेमा भरतपुर–९ का ४२ वर्षीय एकराज भट्टराईका पाँचजना परिवार रहेका छन् । भट्टराईसहित उनकी श्रीमती निर्मला भट्टराई, १० वर्षीया एलिजा भट्टराई, ८ वर्षीया छोरी यनुषा भट्टराई र ४ वर्षीय छोरा अनुज भट्टराई रहेका छन् ।
उनीहरुको अवस्था मध्यम रहेको र नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ ।
यस्तै खैरहनी नगरपालिका–८ का ५० वर्षीय रामप्रसाद चापागाई, भरतपुर महानगरपालिका–४ का २१ वर्षीय नवीन भट्टराई घाइते भएको छन् । उनीहरुको अवस्था मध्यम र सामान्य रहेको छ । माईक्रोबस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।























