घाँटी रेटिएको अवस्थामा फेला परेका सव–ओभरसियर भट्टको मृत्यु


डडेलधुरा, असार १५ । डडेलधुरामा घाँटी रेटिएको अवस्थामा फेला परेका सव–ओभरसियर डम्वरदेव भट्टको मृत्यु भएको छ । अमरगढी नगरपालिकामा कार्यरत सव–ओभरसियर ४५ वर्षीय भट्ट शनिबार बिहान चक्कुले घाँटी रेटिएको अवस्थामा जंगलमा फेला परेका थिए । उनी सोही नगरपालिका-५ का निवासी हुन् ।
जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख डिएसपी दीपक कार्कीका अनुसार भट्ट हिजो बेलुकादेखि हराएका थिए । हिजो बेलुका ६ बजेदेखि हराएका उनी खोजतलासका क्रममा बिहान घर नजिकैको जंगलमा घाइते अवस्थामा फेला परेका हुन् । घटनास्थलमा प्रहरीले चक्कु समेत फेला पारेका थिए ।
घाइते अवस्थामा भेटिएका भट्टलाई उपचारका लागि डडेलधुरा अस्पतालले धनगढी रेफर गरिएको थियो । धनगढीमा उपचार कै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भट्ट निर्माण व्यवसायी समेत थिए । निर्माण कार्य सम्पन्न गरिसक्दा समेत सम्बन्धित कार्यालयले भुक्तानी नदिएपछि उनी आर्थिक समस्यामा रहेको आफू निकट साथीहरूलाई बताउँदै आएका थिए । आर्थिक अवस्था नाजुक हुँदै गएपछि उनी केही तनावमा रहेको कुरा खुल्न आएको छ । उनले आर्थिक समस्याका कारणले मानसिक तनाव सहन नसकेर आत्महत्याको प्रयास गरेको हुन सक्ने आशंका गरिएको छ ।
यद्यपि घटनाको यकिन कारण खुलिनसकेको र अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । उनको शव अहिले डडेलधुरा ल्याउने तयारी गरिएको छ ।























