चिनियाँ नागरिकसँग विवाह गराइदिने भन्दै भिजिट भिसामा चीन पुर्याएर विक्री गर्ने महिला पक्राउ


काठमाडौं, असार १३ । चिनियाँ नागरिकसँग विवाह गराइदिने भन्दै भिजिट भिसामा चीन पुर्याएर नेपाली युवतीलाई विक्री गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका-१ जोगीदहकी ३१ वर्षीया सुन्दरी राई रहेकी छन् ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले उनलाई असार ११ गते पक्राउ गरेको हो । प्रहरीका अनुसार चिनियाँ युवकसँग विवाह गरिदिने भन्दै सुन्दरीले नेपाली युवतीलाई २०८० फागुन १० गते चीन पुर्याइएकी थिइन् । नेपाली युवतीलाई चिनियाँ नागरिकले घरमै बन्धक बनाएको तथा यौन शोषण गरेको सूचना आएपछि नेपाली दूतावासको समन्वयमा पीडित युवतीलाई चार दिन अघि मात्र नेपाल फर्काइएको थियो ।
पीडितको उजुरीपछि प्रहरीले सुन्दरीलाई नियन्त्रणमा लिएको हो । ब्युरोका अनुसार सुन्दरीले पीडितलाई चिनियाँ युवकसँग एक लाख ५० हजार रुपैयाँमा विक्री गरेकी थिइन् । उनले आफू पनि चिनियाँ नागरिकसँग विवाह गरेर १० वर्षअघि चीन आएको र चिनियाँ युवकसँग विवाह गर्दा भविष्य राम्रो हुने भन्दै युवतीहरूहरुलाई फसाउने काम गरेको ब्युरोको दाबी छ ।























