बाढी/पहिरो

कास्कीमा पहिरोले पुरिएर २ बालबालिकाको मृत्यु, एक घाइते

नवलपुर टुडे
२०८१ असार १२ | बिहान ०८:०३ बजे
फाइल तस्बिर

पोखरा, असार १२ । कास्कीमा हिजोदेखि लगातार परेको भारी वर्षाका कारण पहिरो जाँदा पुरिएर २ बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मादी गाउँपालिका – ५ चितेपानीका १३ वर्षीय आयुश्मा रानाभाट र पोखरा महानगरपालिका – २८ आरुपाटाका ३ वर्षीय अनमोल सुनार छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार राति करिब पौने २ बजेतिर घरपछाडिको ढिस्को खसेर हजुरआमासँगै सुतिरहेका आयुश्मालाई पुरिएको हो । हजुरआमा ७० वर्षीय लालमाया बञ्जारीलाई सकुशल उद्धार गरे पनि नातिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

त्यस्तै पहिरोले आरूपाटाका ३१ वर्षीय हरि सुनारको घर पुरिँदा ३ वर्षीय छोरा अनमोलको मृत्यु भएको हो । पहिरोमा परी हरिकी श्रीमती २७ वर्षीय रितु सुनार घाइते भएको प्रहरीले जनाएको छ । उनको थप उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको छ ।

कमेन्टहरु