लमजुङमा पहिरोले ३ घर बगायो, ४ जना बेपत्ता


लमजुङ, असार १२ । लमजुङमा पहिरोले घर बगाउँदा ४ जना बेपत्ता भएका छन् ।
क्व्होलासोथार गाउँपालिका-३ उत्तरकन्याको बगुमस्थित पच्यु टोलमा गएराति पहिरोले तीन घर बगाउँदा चार जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी मीनबहादुर घलेले जानकारी दिए ।
डिएसपी घलेका अनुसार स्थानीय रूद्रमान गुरूङ, पञ्चकुमारी गुरूङ र गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेको घर पहिरोले बगाएको हो । पहिरोमा परेर ६९ वर्षीय रूद्रमान गुरूङ, ३६ वर्षिय पञ्चकुमारी गुरूङ, उनका दुई छोरीहरू ७ वर्षिया ईच्छा गुरूङ र ५ नम्रता गुरूङ बेपत्ता भएका छन् ।
रूद्रमानको श्रीमती छिमेकी घरमा सुतेको र चित्र घले गाउँपालिकाको केन्द्र मालिङमा रहेकाले पहिरोबाट बचेको प्रहरीको भनाइ छ । पहिरोमा चित्रका भाइ भिमबहादुर घले भने घाइते भएका छन् ।
अहिले उद्धारका लागि नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थल प्रस्थान गरिसकेको छ ।























