मौसम

देशभर मनसुनी वायुको प्रभाव : आज यी स्थानमा हुनेछ भारी वर्षा

नवलपुर टुडे
२०८१ असार ११ | बिहान ०६:०३ बजे

काठमाडौं, असार ११ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गत जेठ २८ गते नेपाल प्रवेश गरेको मनसुन सोमबार देशफर फैलिएको महाशाखाले जानकारी दिएको छ । मनसुनी वायु देशभर फैलिएसँगै अहिले बिहान कोशी, मधेस, लुम्बिनी, सुदूरपश्चिम प्रदेशमा वर्षा भइरहेको छ ।

पछिल्लो एक घन्टाको अवधिमा सुनसरीको सप्तकोशीमा ४१.६ मिलिमिटर वर्षा भएको छ । त्यस्तै रुपन्देहीमा ३५.६, दाङको कोइलाबासमा २७.८ मिलिमिटर पानी परेको छ । पछिल्लो २४ घन्टामा सुनसरीको सप्तकोशीमा १३४.८, कास्कीको चोम्रोङमा ८२.८, म्याग्दीको तातोपानीमा ८१.६ मिलिमिटर वर्षात् भएको छ । त्यस्तै कैलालीको बलियामा ६२.८ मिलिमिटर पानी परेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कमेन्टहरु