देश

उपत्यकामा पुन: एक साता निषेधाज्ञा : सार्वजनिक सवारी चलाउन नपाइने, बारअनुसार पसल खोल्न पाइने

जगत ठाडा मगर
२०७८ असार ६ | मध्यान्ह ०८:०३ बजे

जितेश मण्डल
असार ६ / काठमाण्डौ: उपत्यकामा पुनः थप एक साता निषेधाज्ञा थप गरिए पनि निषेधाज्ञामा पसलहरु खोल्न पाइने निर्णय भएको छ।

आइतबार उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञा अवधिमा मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्न दिइने निर्णय भएको काठमाडौंका सिडिओ कालीप्रसाद पराजुलीले जानकारी दिए ।

उनका अनुसार सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न दिइनेछ।

खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न दिइने निर्णय भएको उनले बताए। त्यस्तै, रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउने उनले बताएका छन् ।

निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइने पनि उनले जानकारी दिए। शनिबार अत्यावश्यकबाहेक अरू पसलहरू भने बन्द गर्नु पर्नेछ। यसैगरी सरकारी कार्यालय आलोपालो गरी खुला गर्नुपर्ने निर्णय भएको पनि उनले जानकारी दिए ।

आइतबार साँझ बसेको बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको छ । यससँगै उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा हुने भएको छ। निजी सवारीमा जोररविजोर प्रणाली अपनाइए पनि सार्वजनिक सवारी भने चलाउन नपाइने सिडिओ पराजुलीले जानकारी दिए ।

कमेन्टहरु