सामाजिक अभियान्त ज्वाला संग्रौला र उनका श्रीमान हिमालमाथि युवा संघद्वारा निर्घात कुटपिट


काठमाडौं । युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेमाथि गौशाला प्रहरी वृत्तमा आक्रमण गरेको ज्वाला संग्रौला समूहलाई युवा संघका युवाहरुले महानगरीय प्रहरी परिसर काठमाडौंमा कुटपिट गरेका छन् । आफूमाथि कुटपिट भएपछि खुस्बुले उनीहरुविरुद्ध टेकु प्रहरी परिसरमा उजुरी गरेकी थिइन् ।
प्रहरीले आज खुस्बु र ज्वालाको समूहलाई छलफलका लागि बोलाएको थियो । त्यही क्रममा उपाध्यायमाथि कुटपिट भएको हो । संग्रौला र उनका श्रीमान हिमाल उपाध्यायमाथि निर्घात कुटपिट भएको हो । उनीहरुमाथि महानगरीय प्रहरी परिसर टेकुमा कुटपिट गरिएको हो ।
यता प्रहरीले परिसर बाहिर कुटपिट भएको दावी गरेको छ । उनीहरुलाई कुटपिट गर्नेहरु युवा संघका युवाहरु सुजन खत्री र सुमन चित्रकार रहेको प्रहरीले जनाएको छ । यद्यपी प्रहरीले उनीहरुलाई पनि नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ । प्रहरीले दुवै समूहलाई छलफलको लागि बोलाएपनि सहमति हुन नसकेपछि कथित अभियान्ता संग्रौलासहित उपाध्याय र शर्मिला वाइवालाई नियन्त्रणमा लिएर हिरासतमा लिएको छ ।
उनीहरुविरुद्ध प्रहरीमाथि समेत हातपात गरेको अभियोग छ । पक्राउ परेका तीनै जनामाथि कुटपिट तथा अभद्र व्यवहार मुद्दा चल्ने महानगरीय प्रहरी परिसर टेकुका एसएसपी अशोक सिंहले बताए । यसअघि ११ जेठमा संग्रौलाको समूहले महानगरीय ट्राफिक प्रहरी प्रभागमा कार्यरत सहायक निरीक्षक (असई) मणिकान्त झामाथि नश्लीय टिप्पणी प्रयोग गरेर ‘एनी हाउ सरुवा’ गरिदिने चेतावनी दिएको थियो । र झालाई सरुवा समेत गरेका थिए ।























