गण्डकी प्रदेशका नवनियुक्त मन्त्री मनाङे र देवकोटाले लिए शपथ

नवलपुर टुडे
२०८१ जेष्ठ २९ | मध्यान्ह १२:०२ बजे

पोखरा, जेठ २९ । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री फणीन्द्र देवकोटा र राजीव गुरुङ (दीपक मनाङे) ले शपथ लिएका छन् ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री देवकोटा र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री मनाङेलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
नेपाल समाजवादी पार्टीका नेता तथा माओवादी सांसद देवकोटाले माओवादीको चुनाव चिन्हबाट प्रदेश सांसद जितेका थिए । माओवादीले विश्वासको मत नदिन गरेको ह्वीपविपरीत फ्लोर क्रस गरेरे उनले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका थिए । फणीन्द्रमाथि हिजैदेखि कारबाही प्रक्रिया थालिएको माओवादीले बताएको छ ।
मुख्यमन्त्री पाण्डेले सोमबार संसदबाट विश्वासको मत पाएपछि मन्त्रीमण्डल विस्तार गरेका हुन् ।
योसँगै गण्डकीमा मन्त्रिमण्डल ५ सदस्यीय पुगेको छ ।























