मकवानपुरमा मोटरसाइकलको ठक्करबाट चेकिङमा रहेका ट्राफिक प्रहरी घाइते


मकवानपुर,जेठ २५ । मकवानपुरमा ‘चेकिङ’मा रहेका ट्राफिक प्रहरीलाई मोटरसाइकलले ठक्कर दिएको छ । उक्त दुर्घटनामा ट्राफिक प्रहरीसहित तीनजना घाइते भएका छन् ।
बिहीबार अपरान्ह मकवानपुरको बकैया गाउँपालिका–४, गोठखोलामा चेकिङको क्रममा मकवानपुरकै गरगरेबाट छतिवनतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०३–००४ प ४४५३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । चेकिङमा रहेका अस्थायी ट्राफिक प्रहरी पोस्ट हात्तीसुँडेमा कार्यरत ३२ वर्षीय ट्राफिक प्रहरी जवान पदम रानामगर ठक्करबाट घाइते भएका हुन् ।
उपचारका निम्ति उनलाई हेटौँडा अस्पतालमा लगिएको थियो । त्यहाँबाट थप उपचारका निम्ति ललितपुरको ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा ल्याइएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।
मोटरसाइकलका चालक बकैया–७ का ३९ वर्षीय उमेश लामिछाने र पछाडि सवार सोही स्थानका २४ वर्षीय सुरेश गौतमलाई पनि सामान्य चोट लागेको थियो । मोटरसाइकलका चालकले मापसे गरेको पाइएको प्रहरीले जनाएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।























