दक्षिणकालीमा करिब ५ दिनअघि मोटरसाइकलसँगै खसेका दुई जनाको शव फेला

नवलपुर टुडे
२०८१ जेष्ठ २४ | बिहान ०८:०२ बजे

काठमाडौँ, जेठ २४ । काठमाडौँको दक्षिणकालीमा नगरपालिका–८ स्थित केराबारीको भिरमा दुई जनाको शव फेला परेको छ । मोटरसाइकलबाट खसेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले जानकारी दिए ।
मृत्यु हुनेमा एक जना महिला र एक जना पुरुष छन् । घटनास्थलमा बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको मोटरसाइकल भेटिएको छ । भिरालो जमिनका कारण शव निकाल्न असहज भएपछि नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट टोली परिचालन गरिएको एसएसपी रजौरेले बताए ।
करिब ५ दिनअघि मोटरसाइकलसँगै उनीहरू खसेको आकलन गरिएको छ । बुधवार दिउँसो बाख्रा चराउन गएका स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । घटनाबारे प्रहरी प्रभाग फर्पिङले अनुसन्धान गरिरहेको छ ।























