आर्थिक अभावमा उपचार गर्न समस्या, दलित महिला कुटपिट गर्ने विरुद्ध जाहेरी दर्ता


तारा लामगादे
धरान । मानसिक सन्तुलन नै बिग्रनेगरी कुटाई खाएकी दलित महिलाको पक्षमा बोलिदिने मान्छे नहुँदा घुपचुपमै रहेको घटना १ महिना पछि बल्ल सार्वजनिक भएको छ ।
गत असार १ गते मोरङको कानेपोखरी गाउँपालिका– ५ चिसाङ बस्तिकी २५ वर्षीया शोभा दर्जीलाई छिमेकी चन्द्रमाया (विन्दा) मगर, बविता मगर, पुष्पा मगर र नियरमाया मगरले घरमा बोलाई ‘तँ दमिनी तामाङसँग विहे गरेपछि निकै ठूली भइस् कि के हो ? हाम्रो मोबाइलको सिम किन चोरिस् तँ चोर्नी, सानो जात भएर आफ्नो औकात देखाइस्, अब तँ दमिनी उम्कने पाउने छैनस्’ भन्दै कुटपिट र लछारपछारी गरी मरि भन्दै खोलामा फ्याकेका थिए ।
गरिब तथा विपन्न दलित समुदायकी शोभा (डुक्का) लाई कथित सानो जात भएकै कारण त्यसअघि पनि पटक पटक जातीय गालिगलौज गर्दै आएको शोभाका बुबा हर्क बहादुर दर्जीले बताए । उक्त दिन शोभालाई मरणासन्न हुनेगरी कुटपिट गरेर खोलामा फालिदिएको खबर गाउँलेबाट थाह पाएपछि शोभाको उद्दार गरेर मेडिकलसम्म पु¥याएका थिए ।
स्थानीय मेडिकलमा उपचार सम्भव नभएपछि कानेपोखरी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष चरण गुरुङको रोहवरमा १५ हजार उपचार खर्च समेत दिई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शोभालाई ल्याइएको थियो । २ महिनाको गर्भवती समेत रहेकी शोभालाई मगर परिवारले टाउको सहित शरीरका विभिन्न भागमा कुटपिट गरेका कारण मानसिक सन्तुलन गुमाएकी छन् ।
प्रतिष्ठानको मानसिक कक्षमा डोरीले बाँधेर उपचार गरिरहेको अवस्था देखिएपछि घटना सार्वजनिक भएको हो । त्यस अवस्थासम्म स्थानीय, प्रहरी प्रशासन र जनप्रतिनिधिले पीडितलाई न्याय दिलाउनु भन्दा गुपचुपमै घटना मिलाई सकेका थिए । दलित समुदायकी विपन्न महिला शोभालाई उनीहरुले मरेपनि केहि फरक नपर्नेगरी काम गरेको देखिन्छ ।
जेठ २ गते घटनाको सुइको पाएपछि स्थानीय दलित अधिकारकर्मी दुर्गा नेपालीले शोभाको न्यायका लागि अपिल गरेकी थिइन् । त्यसपछि अधिकारकर्मी शान्ति गजमेरसहित हुकमसिंह नेपाली, गोपाल लकान्द्री लगायतको सक्रियतामा कुटपिटमा सम्लग्नलाई तत्काल पक्राउ गरी शोभा दर्जीलाई न्याय दिन माग गर्दै जाहेरी दिइएको छ । ज्यान मार्ने उद्देश्यले जातीय भेदभाव तथा छुवाछूत हुनेगरी गालिगलौज गर्दै मरणासन्न बनाई निर्घात कुटपिट भएकोले उचित न्यायका लागि इलाका प्रहरी कार्यालय पथरीमा पीडित पक्षले जेठ ३ गते उजुरी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले पीडितका तर्फबाट जाहेरी बुझिलिएको र छानविन गरी दोषीलाई कार्बाही हुने बताएका छन् । यता मानसिक सन्तुलन गुमाएकी शोभा दर्जीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । आर्थिक अभावका कारण उनको स्वास्थ्य परीक्षण समेत हुन सकेको छैन ।
प्रतिष्ठानका शोभालाई डोरीले बाँधेर राखिएको छ भने उनको उपचारमा सम्लग्न चिकित्सकहरुले सिटिस्क्यान, भिडियो एक्सरे लगायतका रिपोर्ट हेरेपछि मात्र थप उपचार हुने भन्दै त्यसका लागि बिरामीका आफन्त तयार हुनुपर्ने बताए । १५ दिन अघिदेखि अस्पतालमा बिजोग अवस्थामा रहेकी शोभा ।
पीडित शोभाकी आमाले भनिन्, ‘हाम्रो लागि बोलिदिने र सहयोग गर्ने मान्छे छैनन् , अस्पतालमा एक्लै छोरीलाई रुगेर बसेकी छु । न पैसा छ, न कसैको साथ ।’ उनले भनिन्, ‘उपचार पाए छोरीलाई बचाउन सकिन्छ नत्र बौलाएरै मर्नेभई, घरीघरी झगडा गरेजस्तै चिच्याउँछे, उसलाई कुटपिट गर्नेहरुसँग बाझेजस्तो गर्छे । बिजोग भयो । न्याय पाइएन । सहयोग आवश्यक छ ।’























