समाचार

मुगु र हुम्लाका २८ जना बालबालिकालाई काठमाडौँ लैजाँदै गरेका एक व्यक्ति पक्राउ

नवलपुर टुडे
२०८१ जेष्ठ २२ | मध्यान्ह ०३:०२ बजे

सुर्खेत, जेठ २२ । मुगु र हुम्लाका २८ जना बालबालिकालाई काठमाडौँ लिएर जाँदै गरेको अवस्थामा सुर्खेतबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सोमबार राति १२ बजेतिर वीरेन्द्रनगरस्थित तीनकुने चोकबाट प्रहरीले नाम्गेल छिरिङलाई पक्राउ गरेको हो । उनको साथमा २८ जना बालबालिका थिए ।

प्रहरीका अनुसार आर्थिक अवस्था कमजोर भएकाले उनीहरूलाई काठमाडौंमा आवाससहितको शिक्षा दिने भनेर लैजान लागेको बयान छिरिङले दिएका छन् । ती बालबालिकालाई बाबुआमाकै आग्रहमा आफूले काठमाडौं लैजान लागेको छिरिङले बताएको प्रहरीले जनाएको छ ।

छिरिङले वडाबाट ल्याएको सिफारिस देखाए पनि सबैको सिफारिस छैन । यसबारे सोध्दा छिरिङले पटक–पटक बोली फेरिरहेको भन्दै प्रहरीले आवश्यक अनुसन्धान थालेको छ । बसमा हालेर बालबालिकालाई रातारात काठमाडौँ लैजान लागेपछि शङ्का लागेर उनलाई नियन्त्रणमा लिई सोधखोज गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा प्रहरी नायव निरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार १६ बालिका र बाँकी बालक छन् । छिरिङले बालबालिका काठमाडौँको कुन ठाउँमा लैजाने भन्ने विषयमा पनि प्रस्ट खुलाउन नचाहेको प्रहरीले जनाएको छ । 

कमेन्टहरु