बिश्व

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल तिहाड जेल फर्किए

एजेन्सी
२०८१ जेष्ठ २० | मध्यान्ह ०७:०२ बजे

नयाँ दिल्ली, जेठ २० । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल तिहाड जेल फर्किएका छन्।

२१ दिनका लागि बाहिर आएका केजरीवाल आइतबार तिहाड जेल फर्किएको हिन्दुस्तान टाइम्सले जनाएको छ। दिल्लीको राउस एभिन्यु कोर्टले उनलाई जुन ५ तारिख सम्मका लागि न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ।

केजरीवाललाई भर्चुअल कन्फ्रेन्समार्फत म्याजिस्ट्रेट सञ्जिब अग्रवालसमक्ष पेश गरिएको थियो।

जेल जानुअघि उनले भारतका विभिन्न समाचार संस्थाले प्रकाशन गर्दै आएको प्रक्षेपण गलत भएको दाबी गरेका थिए।

‘सन् २०२४ लोक सभा चुनावको एक्जिट पोलहरू हिजो बाहिरिए। लिखित रूपमा लिनुस्- ती सबै फेक हुन्। एउटा एक्जिट पोलले भाजपालाई राजस्थानमा ३३ सिट दिएको थियो। जबकि त्यहाँ २५ मात्रै सिट छन्,’ उनले पार्टी अफिसमा भनेका थिए। 

भारतको सर्वोच्च अदालतले गत मे १० तारिखमा केजरीवाललाई आम-निर्वाचन सम्मका लागि अन्तरिम जमानतमा छाड्न अनुमति दिएको थियो। २१ दिन अर्थात जुन १ तारिख सम्मका लागि सर्वोच्चले जमानत दिएको थियो। 

जुन २ तारिखमा आत्मसमर्पण गर्नुपर्ने भनिएको थियो। भारतमा निर्वाचन सकिएपनि मतपरिणाम भने जुन ४ तारिखमा आउनेछ।

केजरीवाललाई मदिरा बिक्री सम्बन्धी नीतिमा घोटाला गरेको अभियोगमा इडीले गत मार्च २१ तारिखमा पक्राउ गरेको थियो। उनलाई पक्राउ गरी तिहाड जेलमा राखिएको थियो।

कमेन्टहरु