नवलपुर बुलिङटारको बोझा पोखरी, अर्खला र सिञ्चानमा मात्र २७ जना क्षयरोगका नयाँ बिरामी पहिचान


कावासोती, जेठ २० । नवलपुरमा बर्सेनि क्षयरोगबाट सङ्क्रमित हुने दरमा वृद्धि भएको छ । गरिबी, अशिक्षा, चेतनाको कमी, आन्तरिक बसाइँसराइ र खुला सिमाना आदि कारणले क्षयरोगबाट सङ्क्रमित हुने दर बढ्दो छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख शैलेन्द्रकुमार सिहंले नवलपुरमा चालु आर्थिक वर्षको माघ मसान्तसम्म २८४ जना नयाँ क्षयरोगी भेटिएकोमा अहिले पाँच सय भन्दा बढी पुगिसकेको बताए ।
हालै नवलपुरको बुलिङटार गाउँपालिकामा गरिएको स्वास्थ्य परीक्षण शिविरमा एउटै वडामा २७ जना क्षयरोगका नयाँ बिरामी पहिचान भएका छन् । बुलिङटार गाउँपालिका–४ को बोझा पोखरी, अर्खला र सिञ्चान गरी तीन स्थानमा दुई दिनसम्म स्वास्थ परीक्षण शिविर सञ्चालन गरिएको थियो । बुलिङटार गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अशोक श्रेष्ठले शिविरमा ४८५ जना महिला र ३७८ जना पुरुष गरी जम्मा ८६३ जनाको छातीको एक्सरे गरिएको बताए ।
क्षयरोग पहिचान भएकामध्ये १६ जना महिला र ११ जना पुरुष छन् जसमध्ये एक जना १४ वर्षको बालक, एक जना १९ दिनको सुत्केरी महिलासमेत छन् । पहिचान भएका सबै क्षयरोगका बिरामीलाई नजिकको अर्खला स्वास्थ्य चौकीमा दर्ता भई औषधी खाने व्यवस्था मिलाइएको छ । एकै गाउँमा ठुलो सङ्ख्यामा क्षयरोग देखा परेपछि स्वास्थ्य कार्यालयले स्वास्थ्य चुनौती बढेको जनाएको छ ।
शिविरमा आएका अन्य ४० जना सम्भावित क्षयरोगका बिरामीको ‘जिन एक्सपर्ट’ विधिबाट खकार परीक्षणका लागि मध्यविन्दु जिल्लाअस्पतालमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले जानकारी दिए। बुलिङटार गाउँपालिकामा गत आर्थिक बर्षमा जम्मा ३१ जना क्षयरोगी पहिचान भएका थिए । गोरखापत्रबाट























