भारतबाट भित्र्याइएको धानसहित रौतहटमा एक जना पक्राउ

नवलपुर टुडे
२०८१ जेष्ठ १८ | मध्यान्ह ०६:०२ बजे

रौतहट । रौतहटको ईशनाथ नगरपालिका–४ मा भारतबाट अवैधरुपमा नेपाल ल्याउँदै गरेको धानसहित एक जनालाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी गौरबाट खटिएको प्रहरी गस्ती टोलीले राजपुर नगरपालिका–६ घर भएका ४२ वर्षीय अमर साहलाई बिहीबार साँझ ७९० बोरा भारतीय धानसहित पक्राउ गरेको जिल्ला प्रहरीका डीएसपी एलिजा गिरीले जानकारी दिइन् ।
भारतबाट राजस्व छलेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले साहलाई नियन्त्रणमा लिएको हो । साहले अवैध रुपमा धान ल्याएर सडक छेउमा जम्मा गरी राखेका थिए । साहमाथि अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
खुला सीमाका कारण भारतबाट धान, गहुँ, चिनी, प्याज लगायतका सामान तस्कर हुने गर्छ । ठूला व्यापारीले अवैध रुपमा भारतबाट सामान ल्याउन छाडे पनि खुद्रे तस्करी भने बन्द भएको छैन ।























