सुर्खेतमा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु, अन्यको खोजीकार्य जारी


सुर्खेत, जेठ १७ । सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
बिहीबार बिहान सुर्खेतबाट कालीकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेतको विरेन्द्रनगर नगरपालिका-१३ रातानाङ्गला नजिकै टाकुरी मोडबाट खसेर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी विरेन्द्रवीर विश्वकर्माका अनुसार बिहीबार बिहान २ बजेतिर दुर्घटना भएको सूचना प्राप्त हुनासाथ प्रहरी दुर्घटनास्थल पुगेका थिए । उनका अनुसार जिप सडकदेखि अन्दाजी ४ सय मिटर तल खसेको छ ।
दुई जनाको शव बिहानै निकालिएको छ भने दुई जनाको शव भीरमै रहेको र निकाल्ने प्रयास जारी रहेको डिएसपी विश्वकर्माले जानकारी दिए । मृतकको सनाखत भइसकेको छैन ।
जिपमा ८ जना सवार रहेको अनुमान गरिएको छ । दुई जनालाई भने घाइते अवस्थामा उद्धार गरी अस्पताल पुर्याएको छ । घाइतेहरूमा कालीकोटको शुभकालिका गाउँपालिका-३ का अन्दाजी २८/२९ वर्षका नरी कामी र खाडाच्कर नगरपालिका-९ पाखाका नरेन्द्र विष्ट छन् ।
उनीहरूको विरेन्द्रनगरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । बाँकीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।























