चितवनको हङ्ग्री टम रेस्टुरेन्टमा खाजा खाएका सात जनालाई फुड पोइजन, रेष्टुरेन्ट सिल


चितवन, जेठ १६ । चितवनको भरतपुर महानगरपालिका–१, पुलचोकस्थित हङ्ग्री टम रेस्टुरेन्टमा खाजा खाएका सात जना फुड पोइजन भई बिरामी भएका छन् ।
रेस्टुरेन्टमा पिजा, मम, चिकेन, चाउमिनजस्ता खाजा खाने क्रममा नवलपुरको गैँडाकोट नगरपालिका–७ का ३२ वर्षीया सुनिता लामा, उनका छोरा ५ वर्षीय सुहान दराई, छोरी १० वर्षीया सुहाना दराई, भरतपुर महानगरपालिका–११ का ४२ वर्षीय शिवलाल गिरी, उनकी श्रीमती ३३ वर्षीया रिना गिरी, छोरी ९ वर्षीया प्रिन्स गिरी र रिनाकी बहिनी २३ वर्षीया सारु गिरी बिरामी भएका हुन् । उनीहरु भरतपुर सामुदायिक अस्पतालमा भर्ना भएका छन् । केहि विरामीको डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।
होटलको खाजा खाएर विरामी भएको भन्ने उजुरी आएपछि प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले होटलमा अनुगमन गर्न निर्देशन दिएका थिए । अनुगमनका क्रममा होटलमा खानेकुरा तार्न प्रयोग भइरहेको तेलको गुणस्तर र फ्रिजको तापक्रममा कैफियत भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माले बताए ।
अन्य कैफियतहरु पनि देखिएपछि अर्काे आदेश नहुँदासम्मको लागि रेष्टुरेन्टको किचनमा सिल गरिएको उनले जानकारी दिए ।























