नेपाल पत्रकार महासंघ नवलपरासी शाखामा तालाबन्दी

नवलपरासी, जेठ १५ । नेपाल प्रेस युनियन नवलपरासी पश्चिम शाखाले सदस्यताको बिषयलाई लिएर ७ बुदें माग राख्दै नेपाल पत्रकार महासंघ नवलपरासी शाखामा अनिश्चितकालिन तालाबन्दी गरेको छ ।
युनियनले नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण मापदण्ड बिपरित गैर पत्रकारलाई दिइएको सदस्यता खारेज गर्ने, सदस्यता शुद्धीकरणका नाममा गरिएको मनपरि र बलजफ्ती बन्द गर्ने, प्रदेश समितिहरुको गरिमा कायम राख्ने, सक्रिय पत्रकारलाई सदस्यताबाट हटाउने षड्यन्त्र बन्द गर्ने, विधान विपरितका गतिविधि बन्द गर्ने, क्रियाशील पत्रकारको लागि नयाँ सदस्य आह्वान गर्ने, विभेदपुर्ण सदस्यता सिफारिस पुनरावलोकन गर्ने लगायतका माग राख्दै नेपाल प्रेस युनियन नवलपरासीले तालाबन्दी गरेको हो ।
तालाबन्दी पछि नेपाल प्रेस युनियन जिल्ला अध्यक्ष उमेश बिकको हस्ताक्षर रहेको बिज्ञप्ती जारी गरेको छ । बिज्ञप्तीमा नेपाल पत्रकार महासंघ नवलपरासी शाखाद्धारा सिफारिस भई केन्द्रिय समितिबाट समेत स्वकिृति भएको नेपाल पत्रकार महासंघ नवलपरासीमा कायम भएका सदस्यहरुको सम्बन्धमा गम्भिर ध्यान आकर्षण भएको जनाईएको छ ।
नेपाल पत्रकार महासंघ नवलपरासी शाखाबाट महासंघको सदस्यता निर्देशिका बमोजिम तटस्थ रुपमा सदस्यता नविकरण र नयाँ सदस्यता आह्वानमा नवलपरासी शाखाको गम्भिर त्रुटि रहेको हाम्रा ठहर छ । नवलपरासी शाखाले निर्देशिकाको धज्जी उडाउँदै सञ्चार कर्ममा निरन्तर क्रियाशिल नभएका र मुख्य पेशा शिक्षण र गैह्र सरकारी संस्थामा आबद्ध ब्यक्तिहरुको नामसमेत महासंघको सदस्यता नामावलीमा समावेश भएको स्पष्ट र छर्लङ्ग छ, जुन श्रमजिवी पत्रकार जगतको पुर्णतः अहितमा रहेको युनियनले जनाएको छ ।
यस सम्बन्धमा आपत्ति जनाउँदै नेपाल प्रेस युनियन नवलपरासी शाखाले नेपाल पत्रकार महासंघ नवलपरासी शाखा, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश, नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यसमितीमा समेत बारम्बार लिखित र मौखिक रुपमा समेत यो गम्भिर त्रुटि सच्याई पुनरावलोकनका लागि ध्यानआकर्षण गरिएको विषयलाई समेत नजरअन्दाज गरि जिल्ला शाखाको पुर्वाग्रही एवम् निर्देशिका विपरित गरिएको सिफारिस नामावलीलाई केन्द्रिय समितिमा समेत परेका उजुरीको बिषयमा छलफल नगरी हुवहु स्वीकृत गर्ने विषय दुर्भाग्य र लोकतान्त्रिक मुल्य मान्यता विपरित रहेको नेपाल प्रेस युनियन नवलपरासी शाखाको ठहर रहेको बिज्ञप्तीमा जनाईएको छ ।
युनियनले मागको सम्बोधन नभएसम्म जिल्ला शाखाको भुमिकासमेत अमान्य रहने नेपाल प्रेस युनियन शाखा नवलपरासीले जनाएको छ ।
























