सिरोहियालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, मेडिसिटी अस्पताल लैजाने

नवलपुर टुडे
२०८१ जेष्ठ १५ | मध्यान्ह ०३:०२ बजे

जनकपुरधाम, जेठ १५ । नागरिकता कीर्तेसम्बन्धी कसुरमा एक सातादेखि धनुषा प्रहरीको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।
हिरासतमा रहँदा स्वास्थ्यमा समस्या देखिएपछि गत शुक्रबार जनकपुरको काव्य अस्पतालमा भर्ना गरिएको उनलाई डा. एसके सिंह र डा. पंकजकुमार साहको सिफारिसमा थप उपचारका लागि काठमाडौं पठाइएको हो ।
सिरोहियालाई सिम्रिक एयरको हेलिकप्टरबाट काठमाडौं लगिएको छ । उनलाई मेडिसिटी अस्पताल लैजाने बुझिएको छ ।
नागरिकता कसुरमा १६ वैशाखमा धनुषा प्रहरीमा परेको जाहेरीको आधारमा सिरोहियालाई गत जेठ ८ गते काठमाडौंस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाट प्रहरीले पक्राउ गरेर धनुषा ल्याएको थियो ।
सोमबार उनलाई तेस्रोपटक धनुषा जिल्ला अदालतले थप ३ दिनको म्याद थपेर अनुसन्धान गर्न अनुमति दिएको छ ।























