दुर्घटना

नारायणगढ–मुग्लिन सडकखण्डमा पाँच सवारी साधन आपसमा ठोक्किँदा एकको मृत्यु, २२ जना घाइते

नवलपुर टुडे
२०८१ जेष्ठ १४ | बिहान ०७:०२ बजे

चितवन, जेठ १४ । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सत्र किलोमा गएराति पाँच वटा सवारी साधन एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा २२ जना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार गएराति साढे १२ बजे तीन वटा यात्रुबाहक बस र २ वटा ट्रक आपसमा ठोक्किएका हुन् ।

मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा ४ ख ९०८६ नम्बरको यात्रुबहाक बससँग विपरीत दिशाबाट जाँदै गरेको बा ३ ख ७९१५ नम्बरको मालबहाक ट्रक ठक्कर खाएको र उक्त ट्रकको पछाडी ना ६ ख ८९६८ नम्बरको बस र सो बसलाई ना ३ ख ५९३६ नम्बरको मालबाहक ट्रकले ठक्कर दिएको हो ।

त्यस्तै मुग्लिनबाट आउँदै गरेको यात्रुबहाक बसलाई सोही दिशाबाट आउँदै गरेको ना ४ ख ३२४८ नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी अन्दाजी १७ वर्षीय किशोरको मृत्यु भएको छ । उनको परिचय खुल्न सकेको छैन । 

घाइतेमध्ये १८ जनाको इच्छाकामना आधारभूत अस्पताल कुरिन्टारमा तथा चार जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु