दर्ता नै नभएको ज्योति अस्पतालमा गर्भपतन गराउँदा अनिताको गयो ज्यान


काठमाडौ । लापरवाहीपूर्वक १५ हप्ताको गर्भपतन गराउँदा महिलाको मृत्यु भएको घटनामा संलग्न ज्योति अस्पताल दर्ता नै नभई सञ्चालनमा रहेको खुलेको छ । कालीमाटीस्थित ज्योति अस्पताल अहिलेसम्म पनि दर्ता नभई सञ्चालनमा रहेको पाइएको हो ।
जेठ ३१ गते कालीमाटीस्थित ज्योति अस्पतालमा गर्भपतन गराउन पुगेकी रामेछापकी अनिता घिमिरेको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको थियो । मृतकका आफन्तका अनुसार १५ हप्ताको गर्भ पतन गराउनका लागि हेल्थ असिस्टेन्ट दीपक तिमिल्सिना र डा. प्रिया शाक्यको टोलीले औषधि खुवाएका थिए ।
गर्भपतन गराउने औषधि खुवाएपछि गर्भपतन भए पनि महिलाको प्याठेघर पुठेर अत्याधिक रक्तश्राव भएको थियो । जसका कारण महिला सिकिस्त बनेपछि बिएन्डबी अस्पताल पुराउँदा महिलाको मृत्यु भएको थियो ।
महिलाको मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल घेराउ गर्दै आन्दोलन गरेपछि बुधबार अस्पतालले गल्ती स्वीकार गर्दै पीडित परिवारलाई १० लाख क्षतिपूर्ति दिने सहमति गरेको थियो । सहमतिपछि परिवारले शव बुझेर शदगत गरेका थिए ।
१२ हप्ताभन्दा बढी समयको गर्भपतन गराउन नपाउने कानुनी व्यवस्था भएपनि अनिताको गर्भमा रहेको १५ हप्ताको भ्रूणको लिङ्ग पहिचान गरी गर्भपतन गराइएको थियो । बढी समयको गर्भ मेडिकल क्याक (औषधि खुवाएर गर्भपतन गराउने विधि) गर्दा पाठेघर फुटेर अत्याधिक रक्तश्राव भई अनिताको मृत्यु भएको थियो ।
१० वर्षदेखि सञ्चालनमा रहेको भनिएको ज्योति अस्पताल भने दर्ता नै भएको पाइएन ।
मंगलबार अस्पतालका सञ्चालक सत्येन्द्रकाजी श्रेष्ठले आफूले जिल्ला जनस्वास्थ्य कार्यालयबाट २५ बेडको अस्पताल सञ्चालन गर्ने स्वीकृति लिएर चलाइरहेको बताएका थिए । तर, बिहीबार स्वास्थ्य कार्यालय काठमाडौं (तत्कालीन जिल्ला जनस्वास्थ्य कार्यालय) गएर बुझ्दा कालीमाटीस्थित ज्योति अस्पताल दर्ता नै भएको पाइएन ।
अस्पतालले हालसम्म दर्ताका लागि निवेदनसमेत नदिएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्री बहादुर खड्काले बताए । उनले भने, ‘हाम्रो रेकर्डमा ज्योति अस्पताल भन्ने स्वास्थ्य संस्था दर्ता नै भएको पाइएन । उक्त अस्पतालले अहिलेसम्म दर्ताका लागि निवेदन पनि नदिएको र स्वास्थ्य कार्यालयमा गर्नुपर्ने रिपोर्टिङ पनि गरेको भेटिएन । अस्पताल बारेको जानकारी हामीलाई भर्खरै आएको छ, हामी तत्कालै अनुगमन गरी कारवाही गर्छौँ ।’
खड्काले भने, ‘उक्त अस्पतालमा गर्भपतन गराउँदै महिलाको मृत्यु भएको भन्ने कुरा सञ्चार माध्यमबाट थाहा पाएको छु । के भएको हो, हामी पनि बुझ्दैछौँ । हामी चाँडै नै उक्त अस्पतालको अनुगमनमा जान्छौँ ।’ उनले अगाडि भने, ‘पहिलो कुरा उक्त स्वास्थ्य संस्था दर्ता हुनुपर्यो, दोस्रो गर्भपतन गराउनका लागि तालिमप्राप्त स्वास्थ्यकर्मी हुनुपर्यो, तेस्रो गर्भपतन गराउने संस्थाका रुपमा स्वीकृति लिएको हुनुपर्यो र चौथो कानुनले तोकेको परिधिभित्र रही गर्भपतन गराउनुपर्यो । त्यसकारण के भएको हो, हामी बुझ्छौँ र गलत भेटिए कारवाही गर्छौँ ।’
सामान्य क्लिनिक, पोलिक्लिनिक र २५ शैयासम्मको अस्पताल दर्ता तत्कालीन जिल्ला जनस्वास्थ्य कार्यालय र हालको स्वास्थ्य कार्यालयले गर्ने गर्छ । ती अस्पतालहरूको अनुगमन, नियमन र नियन्त्रण गर्ने काम पनि स्वास्थ्य कार्यालयकै हो ।
अस्पतालका सञ्चालक भन्छन्, दर्ता तपाईलाई किन देखाउने, उतै बुझ्नुहोस्
बिहीबार स्वास्थ्य कार्यालय काठमाडौंले ज्योति अस्पताल दर्ता नै नभएको भन्ने जवाफ दिएपछि रातोपाटीले ज्योति अस्पतालका सञ्चालकलाई सम्पर्क गर्दा उनले फोन नउठाइ एकैछिनमा मोबाइलको स्वीच अफ गरिदिए । तर, शुक्रबार बिहान फरक नम्बरबाट सम्पर्क गरेपछि फोन उठाएका अस्पतालका सञ्चालक सत्येन्द्रकाजी श्रेष्ठले आफूले १०÷११ वर्षदेखि दर्ता गरेरै अस्पताल चलाएको दाबी गरे ।
उनले भने, ‘यत्रो संस्था दर्ता नै नगरी चलाउने भन्ने कुरो भएन । हामीले १०/११ वर्ष पहिले नै दर्ता गरी चलाएका हौँ । हामीले कम्पनी रजिस्ट्रारको कार्यालय, स्वास्थ्य र करमा दर्ता गरेरै चलाएका छौँ ।’
कहाँ दर्ता गर्नुभएको भन्ने प्रश्नमा उनले दोहोर्याएर ‘स्वास्थ्य’मा भन्ने जवाफ दिए । तर, जिल्ला स्वास्थ्य कार्यालयमा त तपाईँको दर्ता नै भेटिएन भन्ने प्रश्नमा उनले स्वास्थ्य सेवा विभागमा दर्ता गरेको दाबी गरे । साथसाथै उनले सरकारी कार्यालयमा फाइलहरु मिसप्लेस गरिरहने भएको कारण कतै हराएको होला, उतै खोज्न भन्नुहोस् भने ।’
तपाईको दर्ता नम्बर कति हो र कहाँ गर्नुभएको हो भन्ने प्रश्नमा श्रेष्ठले तपाइँ को हो र तपाईलाई भन्नुपर्ने, स्वास्थ्यमै गएर बुझ्नुस् भन्ने जवाफ दिए । जब कि सार्वजनिक संस्थाले आफ्नो दर्ता नम्बरसहितको वडापत्र र दिने सेवा तथा लाग्ने शुल्कबारे सबैले देख्ने स्थानमा टाँसेको हुनुपर्ने कानुनी व्यवस्था छ ।
मेडिकल काउन्सिल भन्छ– उजुरी आए छानविन र कारवाही हुन्छ
मुख्यतः नेपालको स्वास्थ्य नीति, स्वास्थ्यकर्मीको कोड अफ कन्डक्ट, डाक्टरको सूचीकरण आदि गर्ने संस्था हो नेपाल मेडिकल काउन्सिल । काउन्सिलले नै डाक्टरमाथि छानबिन र कारवाही गर्ने निकाय हो ।
गर्भपतन गराउँदा महिलाको मृत्यु भएको सम्बन्धमा कुराकानी गर्दा हालसम्म कुनै उजुरी नआएकाले यसबारे कुनै प्रक्रिया अगाडि नबढेको काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले बताए ।
उनले भने, ‘गर्भपतन गराउँदा महिलाको मृत्यु भएको भन्ने कुरा सुनेको छु । गर्भपतन सामान्य कुरा हो, त्यसकारण गर्भपतन गराउँदा महिलाको मृत्यु हुनु नै हुँदैन । तर १२ हप्ताभन्दा माथिको गर्भपतन गराएको र त्यही गर्भपतनको कारण महिलाको मृत्यु भएको हो भने यो गम्भीर विषय हो । यदि काउन्सिलमा उजुरी आएको अवस्थामा हामी उक्त घटनाबारे छानबिन गर्छौँ र दोषी भेटिए कारवाही गर्छौँ । यस्तो घटनामा फौजदारी कानुन पनि आकर्षित हुन सक्छ ।’























