कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति


काठमाडौं, जेठ ११ । जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले उनलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका श्रेस्तेदार कैलाशप्रसाद भट्टराईले जानकारी दिए ।
दोहोरो नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा परेको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई सहितको टोलीले सिरोहियालाई गत मंगलबार उनकै कार्यकक्षबाट पक्राउ गरेको थियो ।
पक्राउ परेका उनलाई त्यसैरात गाडीमा जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा पुर्याइएको थियो । पहिलो पटक बुधबार अदालतमा पेश गर्दा सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको थियो ।
उक्त म्याद सकेसँगै शुक्रबार उनलाई पुन: अदालतमा पेश गरि प्रहरीले थप तीन दिन हिरासतमा राख्न अनुमति पाएको हो ।























