एसइईको नतिजा असारको दोस्रो साता प्रकाशन गर्ने तयारी, ३५ प्रतिशत नल्याए ११ मा भर्ना हुन नपाउने


काठमाडौ, जेठ ११ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आउँदो असारको दोस्रो साता प्रकाशन गर्ने तयारी गरिरहेको जनाएको छ ।
बोर्डका अनुसार यस पटक परीक्षामा विद्यार्थीले प्रत्येक विषयमा ३५ प्रतिशत अंक नल्याए शैक्षिक योग्यताको प्रमाणपत्रमा ननग्रेड लेखेर आउनेछ । यसको अर्थ विद्यार्थी फेल भएको मानिनेछ । ग्रेडिङ प्रणालीबाटै नतिजा प्रकाशन गरिने भएकाले शैक्षिक योग्यताको प्रमाणपत्रमा फेल वा पास लेख्न नमिल्ने भएकाले ननग्रेड लेखिने बोर्डले जनाएको छ ।
विद्यालय तहको शिक्षामा शैक्षिक गुणस्तर कायम गर्न साथै विद्यार्थीलाई अध्ययनशील र शिक्षकलाई जिम्मेवार बनाउन यस पटकदेखि बोर्डले विद्यार्थी पास हुने कटअफ पोइन्ट प्रत्येक विषयमा अनिवार्य ३५ प्रतिशत अंक व्यवस्था गरेको कक्षा १० तर्फका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । साथै यस पटकदेखि विद्यार्थीले दुई विषयमा ३५ प्रतिशतभन्दा कम अंक ल्याए ग्रेडवृद्धि परीक्षा दिन सकिने व्यवस्था बोर्डले गरेको नियन्त्रक पौडेलले बताए ।
तर, तीन र तीनभन्दा बढी विषयमा ३५ प्रतिशतभन्दा कम अंक ल्याउने विद्यार्थीले अर्को वर्ष मात्र परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यसअघि विद्यार्थीले कम ग्रेड प्राप्त गरेको हरेक विषयमा ग्रेड वृद्धिको परीक्षा सोही वर्ष दिन पाउने व्यवस्था थियो ।
यस्तै, यसअघिको ग्रेडिङ प्रणालीद्वारा प्रकाशित नतिजामा १.६ ग्रेड प्राप्त गर्ने विद्यार्थीले सहज रूपमा कक्षा ११ मा भर्ना हुन पाउँथे । तर अहिले प्रत्येक विषयमा ३५ प्रतिशत अंक नल्याएमा शैक्षिक प्रमाणपत्रमा ननग्रेड लेखिने हुनाले त्यस्ता विद्यार्थी कक्षा ११ मा भर्ना हुन पाउँदैनन् ।























