मकबर बने इरानको अन्तरिम राष्ट्रपति, को हुन् उनी?


काठमाडौ । राष्ट्रपति इब्राहिम रइसीको मृत्युपछि मोहम्मद मकबर इरानको अन्तरिम राष्ट्रपति बनेका छन्। उनी पूर्व प्रथम उपराष्ट्रपति हुन्। उनले प्रधानन्यायाधीश र सभामुखसँग भेट गरेका छन्।
संविधानअनुसार राष्ट्रपतिको मृत्यु भएमा यी तीन जनाले शासन व्यवस्था सञ्चालन गर्नुपर्छ। र, ५० दिनभित्र राष्ट्रपतीय चुनाव गर्नुपर्ने प्रावधान छ।
त्यतिञ्जेल मकबर अन्तरिम राष्ट्रपति रहनेछन्। उनलाई २०२१ मा रइसीले प्रथम उपराष्ट्रपति पदमा नियुक्त गरेका थिए।
प्रथम उपराष्ट्रपतिका रुपमा मकबरले देशभर घुमेर विभिन्न विकास परियोजना उद्घाटन गरेका थिए भने विदेश भ्रमणमा रइसीका साथमा जाने गरेका थिए।
इरानमा यो पदमा राष्ट्रपतिले सोझै नियुक्त गर्ने प्रावधान छ।
१९८९ मा प्रधानमन्त्री पद हटाएपछि त्यसको केही जिम्मेवारी प्रथम उपराष्ट्रपतिलाई दिइएको थियो। अन्य कयौँ उपराष्ट्रपति हुने गर्छन्। जसले अलगअलग कार्यकारी मामिलाको नेतृत्व गर्छन्।
सेना र सर्वोच्च नेता दुवैसँग राम्रो सम्बन्ध भएकाले उनी सो पदमा नियुक्त भएका थिए।
त्यसअघि १४ वर्षसम्म उनी खामेनीको आदेश पालना गराउने सेतान नामक संगठन प्रमुख थिए।
६८ वर्षीय मकबरले इलेक्ट्रिकल इन्जिनियरिङका साथै अन्तर्राष्ट्रिय कानुनमा विद्यावारिधि गरेका छन्।























