लुम्बिनी प्रदेश

कोइलावासमा खानेपानीको समस्या, भारतको भर पर्नुपर्ने बाध्यता

नवलपुर टुडे
२०८१ जेष्ठ ६ | बिहान ०९:०२ बजे

घोराही, जेठ ६ । लामो समयसम्म भएको खडेरीका कारण नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत दाङको कोइलावास क्षेत्रमा खानेपानीको सङ्कट परेको छ । कोइलावासमा खानेपानीका लागि खनिएको डिप बोरिङसँगै खोलामा भएका जरुवासमेत सुकेपछि स्थानीयलाई खानेपानीको सङ्कट परेको हो । 

बस्तीमा भएका खानेपानीका मुहान सुकेपछि स्थानीयलाई पानीकै लागि भारतीय व्यापारीको भर पर्नुपर्ने अवस्था रहेको छ । स्थानीय ध्रुवरत्न तुलाधर सीमा क्षेत्रका स्थानीयलाई खनेपानीका लागि भारतको भर पर्नुपर्ने बाध्यता भएको बताउनुहुन्छ । सुक्खा समय सुरु भएसँगै कोइलावासमा पानीका मुहान सुक्दा प्रत्येक वर्ष स्थानीयले खानेपानीको समस्या झेल्नुपर्ने बाध्यता भएको तुलाधर बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सुक्खा समय सुरु भएसँगै गएको माघ महिनादेखि कोइलावासमा रहेको डिप बोरिङ बन्द छ । डिप बोरिङ नचल्दा भारतीय व्यवसायीको भर पर्नुपर्ने बाध्यता छ । उताबाट पानी आएन भने खोलामा खाल्टाखुल्टी खोजेर पानी भर्नुपर्ने बाध्यता रहेको छ ।” उहाँका अनुसार अटोमा भारतबाट बिक्रीका लागि ल्याइएको पानी प्रतिजार ५०/६० रुपियाँमा किनेर खानुपर्ने बाध्यता छ । 

पानी बिक्रीका लागि भारतीय व्यापारी कोइलावास आउने गरेको र उसैसँग किनेर खानुपर्ने बाध्यता भएको अर्का स्थानीय गोविन्द अधिकारी बताउनुहुन्छ । दैनिक रूपमा खानेपानी किनेर खानुपर्दा आर्थिक रूपमा विपन्न परिवार समस्या परेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “विपन्न परिवारका लागि साँझ बिहान कसरी घरको खर्च जुटाउँ भन्ने समस्या छ । त्यसैमा पानीसमेत किन्नुपर्ने बाध्यता भएपछि थप समस्या परेको छ ।”  यसरी पानीका लागि कोइलावासका नागरिकले दुःख भोग्नु परेको दशक बढी भएको उहाँ बताउनुहुन्छ । 

कोइलावास बस्तीसँगै रहेको खोलामा अनियन्त्रित रूपमा उत्खनन हुँदा यस्तो अवस्था भएको अधिकारी बताउनुहुन्छ । घरायसी र व्यक्तिगत सरसफाइका लागि खोलामा पोखरी खनेर काम चलाउने गरिए पनि खानेपानीका लागि ठुलो समस्या रहेको छ । खोलामा भएका ढुङ्गा र बालुवा भारत निकासी गरेपछि कोइलावासका इनारसँगै खोलामा पानी सुक्दै जाँदा बस्तीमा खानेपानीको सङ्कट देखिँदै आएको अर्का स्थानीय कमल खत्री बताउनुहुन्छ । कोइलावासमा खानेपानीको सङ्कट समाधानका लागि बजेट पर्ने गरे पनि सही रूपमा सदुपयोग नहुँदा समस्या समाधान हुन नसकेको उहाँ बताउनुहुन्छ । स्थानीय सरकार गठन भएपछि कोइलावासमा पानीका लागि करोडभन्दा बढी रकम खर्च भए पनि खानेपानीको समस्या भने हट्न नसकेको खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “यसको मुख्य कारण भनेको बजेटको सदुपयोग हुन सकेन । पानी आउन सक्ने उपयुक्त ठाउँमा डिप बोरिङ खन्नेभन्दा पनि मनपरि रूपमा खन्ने काम गरियो ।” 

कोइलावासमा डिप बोरिङ खन्ने भए कम्तीमा पनि २५० मिटरभन्दामाथि नै खन्नुपर्ने भए पनि त्यस अनुसार काम नहुँदा छ÷सात पटक डिप बोरिङ खन्दा पनि योजना सफल हुन नसकेको बताउनुहुन्छ । गढवा गाउँपालिका–८ का वडाध्यक्ष अब्दुल खालिक सिद्धिकी माघदेखि असारसम्म खानेपानीको सङ्कट हुने गरेको  बताउनुहुन्छ । वडा कार्यालयले लमहीदेखि ट्याङ्करमा पानी कोइलावास लगेर वितरण गर्ने गरेको उहाँले बताउनुभयो । वडाध्यक्ष सिद्धिकीले भन्नुभयो, “कोइलावासमा दीर्घकालीन रूपमा खानेपानीको समस्या समाधानका लागि पहल गरिरहेका छौँ तर त्यो काम हुन सकेको छैन । सङ्कट पर्दा ट्याङ्करबाट पानी बोकेर खुवाउने गरेका छौँ ।” खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका कार्यालय प्रमुख तिलक न्यौपाने कोइलावासमा खानेपानीको समस्या समाधानका लागि पटक पटक प्रयास भए पनि दीर्घकालीन रूपमा समस्या समाधान हुन नसकेको बताउनुहुन्छ । पहिले खनेका डिप बोरिङबाट पानी नआउँदा यो वर्ष पनि खानेपानीका लागि २० लाख रुपियाँ बजेट विनियोजन भएको बताउनुहुन्छ ।

कमेन्टहरु