देश

भैरहवास्थित भिम अस्पतालले सुचारु गर्यो जनरल ईर्मेजेन्सीसहित ओपिडी र प्रसूतिसेवा

kushal
२०७८ असार ३ | मध्यान्ह ०७:०३ बजे

भैरहवा । कोभिडका विरामीको उपचारमा अग्रणी भुमिका खेलेको भैरहवास्थित भिम अस्पतालले आफ्नो जनरल ईर्मेजेन्सी सेवा पुनः सुरु गरेको छ । कोरोनाको दोस्रो लहर समुदायमास्तरमा फैलिन थालेपछि अस्पतालमा कोरोनाका विरामीको भिड थामिनसक्नु भएसंगै प्रदेश सरकारको निणर्य बमोजिम अस्पताललाई पुर्ण कोभिड अस्पतालमा रुपान्तरण गरिएको थियो ।

गत बैशाख ६ गतेदेखि अस्पतालमा संचालनमा रहेका अन्य स्वास्थ्यसेवा जनरल ईर्मेजेन्सी, ओपिडी सेवा तथा प्रसूति सेवा बन्द गरी कोरोनाका विरामीको उपचारमा सम्पुर्ण जनशक्ति परिचालन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले जानकारी दिए । अस्पताललाई पुर्ण कोभिड अस्पतालको रुपमा प्रयोग गर्दा जिल्ला तथा जिल्ला बाहिरका थुप्रै कोभिडका विरामीले स्वास्थ्यसेवा प्राप्त गरे । तर अस्पतालका अन्य सेवा बन्द हुंदा दुर्घटनाका घाईते, सर्पदंशका विरामी,प्रसुतिसेवा दिनबाट विरामी बन्चित भएको अध्यक्ष भण्डारीले बताए ।

उनका अनुसार अस्पतालको जनरल ईर्मेजेन्सीमा दैनिक सरदर २ सय ५० जनाले स्वास्थ्य सेवा लिने गरेका थिए । वर्षायाम सुरु भएसंगै तराईमा सर्पदंशका विरामीहरु बढ्ने र समयमा उपचार नपाउंदा ज्यान जानसक्ने जोखिमलाई मध्यनजर गरेर ईर्मजेन्सी सेवा सुरु गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए ।

यस्तै अस्पतालले असार १ गतेबाटै बन्द रहेको प्रसूति सेवा, ओपिडी सेला समेत संचालन गरेको जनाईएको छ । निम्न आयस्तर भएका सर्वसाधारणको भरोसा बनेको भिम अस्पतालले गत पुस महिनादेखि अस्पतालको सेवामा विस्तार गरी बालरोग विशेषज्ञ सेवा,महिला तथा प्रसुति विशेषज्ञ सेवा, जनरल फिजिसियन तथा आँखा सम्बन्धी विशेषज्ञ सेवाको शुभारम्भ गरेको थियो ।

सामान्य अवस्थामा दैनिक १५ देखि २० जना महिलालाई प्रसुतिसेवा दिने अस्पताललाई पुर्ण कोभिड अस्पतालको रुपमा रुपान्तरण गर्दा ग्रामिण भेगका महिला यस सेवा बाट वन्चित बन्न पुगेका थिए । कोरोनाका विरामीको चाप विस्तारै घट्दै गएको र वर्षायामसंगै अन्य रोगको प्रकोप बढ्दै जाने कुरालाई मध्येनजर गर्दै अन्य सेवा सुरु गरेको अस्पतालका सुचना अधिकारी डा. सिद्धार्थ पाण्डेले जानकारी दिए ।

हाल यस अस्पतालमा कोभिडका २८ जना विरामी उपचाररत रहेका छन् । जसमध्ये ४ जनाको आइएसियुमा, पांच जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ । यस्तै १८ जनाको एचडियु र एक जना कोरोनाका सामान्य विरामीको उपचार भईरहेको अस्पतालले जनाएको छ ।

कमेन्टहरु