राष्ट्रपतिका आर्थिक विज्ञ डा.चिरञ्जिवी नेपालको राजीनामा स्वीकृत


काठमाडौँ, वैशाख ३० । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक विज्ञ डा.चिरञ्जिवी नेपालले दिएको राजीनामा स्वीकृत गरेका छन् । १०० को नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णयको विषयमा विवादास्पद अभिव्यक्ति दिएको भन्दै आलोचना भएपछि उनले राजीनामा दिएका थिए ।
सो राजीनामा राष्ट्रपति पौडेलले आइतबार स्वीकृत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै जानकारी दिइन् ।
‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू समक्ष आर्थिक विज्ञ डा चिरञ्जिवी नेपालले दिनुभएको राजीनामा सम्माननीय राष्ट्रपतिज्यूले सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नु भएको छ ।’ विज्ञप्तिमा भनिएको छ ‘साथै, सम्माननीय राष्ट्रपतिज्यूले डा. नेपालले आफ्नो पदमा रही र्पुयाउनु भएको सेवाका लागि धन्यवाद समेत दिनुभएको छ’
नेपालको नक्सा नोटमा प्रकाशित गर्नेसम्बन्धी विषयबारे उनले बोलेको विषयमा यसअघि राष्ट्रपतिले नै उनीसँग सोधखोज गरेका थिए । त्यसपछि उनले विज्ञप्ति जारी गरेर आफ्नो बचाउ गरेका थिए ।























