गण्डकी प्रदेश

गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मत विवादमा, कांग्रेस सांसदले कालो झण्डा प्रदर्शन

नवलपुर टुडे
२०८१ बैशाख २३ | मध्यान्ह ०७:०१ बजे

पोखरा । विवादका बिच गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको पाएको घोषणा गरिएको छ । सभामुख कृष्ण धितालले ३० मतलाई नै बहुमत घोषणा गरिदिएका हुन् । प्रदेशसभामा ६० सांसद छन् । यसका लागि बहुमत पुग्न ३१ सिट चाहिने भएपनि उनले ३० मतलाई नै बहुमत घोषणा गरिदिएपछि कांग्रेसले बैठकमै नाराबाजी गर्दै सभामुखलाई कालोझण्डा देखाएको छ । 

एमालेका २२, माओवादीका ७ र एकजना स्वतन्त्र सांसदले मुख्यमन्त्रीको पक्षमा मतदान गरेका हुन् । यस्तै विपक्षमा कांग्रेसका २७ जनाले मतदान गरे भने राप्रपाका २ सांसद तटस्थ बसेका थिए । सभामुखले ३० मतलाई बहुमत घोषणा गरेपछि कांग्रेसका सांसदहरुले संवैधानिक मर्यादा कायम गर, असंवैधानिक प्रक्रिया मान्दैनौँलगायतका नारा लगाउँदै कालोझण्डासहित प्रदर्शन गरेका हुन् ।

सभामुख धितालले निर्णायक अवस्थामा आफूले पनि मत हाल्न पाउने संवैधानिक व्यवस्था रहेको भन्दै सोही आधारमा सङ्ख्या ३० नै भएपनि बहुमत पुगेको जिकिरसहित मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरेका थिए ।

कमेन्टहरु