डेढ महिनाअघि मात्रै विवाह गरेर दुबई गएका राजुको उतै गुम्यो ज्यान


सुनसरी, वैशाख २० । सुनसरीको इटहरी उपमहानगरपालिका – १९ भवानीपुरका २९ वर्षीय राजु भारतीको दुबईमा ज्यान गुमेको छ ।
घर खर्च चलाउन र कमाइ गर्नका लागि विदेश गएका भारतीले उतै ज्यान गुमाउनुपर्दा इटहरी १९ का स्थानीयबासी भावविह्ल बनेका छन् । डेढ महिनाअघि मात्रै विवाह गरेर विदेश गएका उनको हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
केही पैसा कमाउने, बचत गर्ने र घर खर्च चलाउने सपना बोकेर विदेशिएका उनको उतै मृत्यु भएपछि परिवार, आफन्तजनसँगै स्थानीयबासीसमेत शोकमा परेका छन् । भारतीको शव शनिबार घरमा ल्याएर आइतबार इटहरीस्थित बूढीगंगा–जमुना मुक्तिघाटमा अन्त्यष्टि गरिएको छ ।
‘वैशाख ६ गते (अप्रिल १८ तारिक) मा मृत्यु भएको रहेछ । त्यसको चार दिनपछि मात्रै परिवारलाई थाहा भयो,’ राजुका छिमेकी सन्तोष पौडेलले भने, ‘हामीलाई थाहा भएको चार दिनमै शव नेपाल ल्याइयो ।’























