नवलपरासीको विभिन्न स्थानबाट ६ लाख ८८ हजार बराबरको सामान तथा पशु चौपायासहित एक जना पक्राउ


नवलपरासी, वैशाख १७ । नवलपरासी प्रहरीले भारतबाट नेपालतर्फ भन्सार छलि ल्याउँदै गरेको अवैध सामान तथा नेपालबाट भारततर्फ लैजाँदै गरेको पशु चौपाया नियन्त्रणमा लिएको छ । नवलपरासीको विभिन्न स्थानबाट अन्दाजी मूल्य रू. ६,८८,९४० बराबरको सामान तथा पशु चौपाया नियन्त्रणमा लिएको नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहराले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक बोहराका अनुसार प्रहरी चौकी भुजहवाबाट खटिएको प्रहरी टोलीले आइतबार सरावल गाउपालिका वडा नं. ७ मधवलियाबाट २ वटा अटोमा १८ वटा बाख्रा नेपालबाट भारत तर्फ लैजाँदै गरेको अवस्था बरामद गरेको हो । प्रहरीले बाख्रासहित अटो र अटो चालकलाई नियन्त्रणमा लिएको छ ।
यस्तै, जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको टोलीले आइतबार पाल्हीनन्दन गाउँपालिका वडा नं. ३ बेलासपुरबाट अन्दाजी मूल्य रु. १,२३,४४० बराबरको विभिन्न थानको तथा रेडिमेड कपडाहरु बरामद गरि नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएका पशु चौपाया, सामान र अटो चालकलाई आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा पठाइएको प्रहरी नायव उपरीक्षक बोहराले जानकारी दिए ।























