नवलपुरमा एक दम्पती मृत अवस्थामा फेला, हत्याको आशंका


नवलपुर, वैशाख १७ । नवलपुरको मध्यविन्दु नगरपालिका वडा नं १२ बेलहानीमा एक दम्पती मृत अवस्थामा फेला परेका छन् ।
बेलहानीका अन्दाजी ६०/६५ वर्षीय तुलबहादुर कुमाल र उनकी श्रीमती अन्दाजी ५०/५५ वर्षीया मिना कुमाल आफ्नै घरमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक कमल परियारले जानकारी दिए ।
प्रहरी निरीक्षक परियारका अनुसार श्रीमती मिनाको टाउकामा चोट लागेको अवस्थामा र श्रीमान तुलबहादुर कुमाल झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
कुमालको बन्दै गरेको नयाँ घरमा काम गर्ने कामदारहरुले घरका मान्छे अबेरसम्म नउठेपछि खोजिनिति गर्ने क्रममा दुवै जना घर भित्र मृत अवस्थामा फेला परेको स्थानीयले बताए ।
प्रहरीले हत्याको आशंका गरेको छ । घरमा अन्य कोही नभएको र घटनास्थलमा अहिले प्रहरीले मुचुल्का तयार पार्दै गरेकोले अहिले नै घटनाको बारेमा केही भन्न नसकिने प्रहरी निरीक्षक कमल परियारले बताए ।
स्थानीयले भने श्रीमानले श्रीमतीको हत्या गरी आफू पनि झुण्डिएर आत्महत्या गरेको आशंका गरेको छ । यस अघि पनि श्रीमान श्रीमतीबीच बेलाबेलामा विवाद हुने गरेको स्थानीयले बताएका छन् ।























