‘सिधाकुरा डटकम’ लाई २४ घण्टाभित्र भ्रामक अडियो हटाउन प्रेस काउन्सिलको निर्देशन


काठमाडौँ । प्रेस काउन्सिल नेपालले एक्सक्लुसिभ भन्दै ‘सिधाकुरा डटकम’ ले शुक्रबार बिहान सम्प्रेषण गरेको भ्रामक सामग्रीको अडियो २४ घण्टाभित्र हटाउन निर्देशन दिएको छ । काउन्सिलले शुक्रबार अपरान्ह ‘सिधाकुरा डट कम’ लाई पत्र पठाउँदै उक्त सामग्री भ्रामक भएको उल्लेख गरेको छ ।
समाचारमा नाम जोडिएका अन्नपूर्ण मिडिया नेटवर्का अध्यक्ष क्याप्टेन रामेश्वर थापाले शुक्रबार दिउँसो काउन्सिलमा उजुरी दिएका थिए । उक्त उजुरी छानबिन गरी काउन्सिलले सामग्री भ्रामक भएकाले हटाउनका लागि निर्देशन दिएको हो ।
‘समाचारमा भएका सम्पूर्ण सामग्री पूर्वाग्रहका लागि सिर्जना गरिएको, भाइरल र सनसनीपूर्ण बनाउन चाहेको, भ्रमपूर्ण कथित पात्रहरु उभ्याइ नक्कली नाटक गरी शतप्रतिशत् झुठो बनाइएको र जीवनभर निष्पक्ष न्यायसम्पादन गर्न तल्लिन न्यायमूर्ति तथा सम्मानित सर्वोच्च अदालतको सम्मानित सवैधानिक बेन्चसमेत मुछी नेपालको लोकतन्त्रका लागि सदा लागि परिरहेका हामी अन्नपूर्णपोष्ट तथा कान्तिपुर मिडियाको मानमर्दन गरी पत्रकारिताको पराकाष्टा नाघेको सूचित गर्न चाहन्छु’ अध्यक्ष थापाले काउन्सिलमा पठाएको पत्रमा छ ।
उनले दुराचारयुक्त समाचारप्रति नेपालको कानुनको फौजदारी अपराध संहितासमेत आकर्षित हुने हुनाले उचित कानुनी पहलसमेत यथाशीघ्र चालिदिनुहुन पनि अनुरोध गरेका थिए ।























