समाचार

धनुषामा स्थानीय र प्रहरीबीच झडप, तीन जना प्रहरी घाइते

नवलपुर टुडे
२०८१ बैशाख १३ | मध्यान्ह ०२:०१ बजे
फाइल तस्बिर

जनकपुरधाम, वैशाख १३ । धनुषाको औरही गाउँपालिका वडा नम्बर १ पौडेसरमा प्रदर्शन गरिरहेका स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको छ । झडपमा तीन जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

डिएसपी अवाका अनुसार करिब दुई साता अघि दुई जना युवकले दुई जना युवती भगाएर लगेका थिए । ती दुई जोडी अहिलेसम्म पनि नआएपछि छोरी पक्षकाले बिहानैदेखि सडकमा टायर बालेर प्रदर्शन गरेका हुन् । स्थिति तनावग्रस्त बनेपछि नियन्त्रणमा लिन प्रहरीले अहिलेसम्म ९ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ ।

‘प्रदर्शन नियन्त्रण गर्न गएको प्रहरीको ठुलो गाडीमा प्रदर्शनकारीले ढुङ्गा हानेर सिसा फुटाई दिए पछिको स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरिएको हो ।’ डिएसपी अवाले भने ‘अहिले स्थिति नियन्त्रणमा आइसकेको छ ।’

पौडेसरका दुई जना युवतीलाई हंसपुर नगरपालिका–४ का दुई जना युवकहरूले भगाएर लगेका छन् । ती दुई जोडी अहिले पनि परिवारको सम्पर्कमा छैनन्। प्रहरीले आफ्नो छोरीहरू खोज्न कुनै पहल नगरको र केटा पक्षले पनि छोरीहरू खोजी नगरेको आक्रोशमा केटी पक्षका आफन्तले प्रदर्शन गरेका हुन् ।

प्रहरीले केही दिन अघि यस विषयमा दुई पक्षका आफन्तलाई राखेर छलफल गरेको थियो । युवकका आफन्तले छोराछोरी खोज्न सहयोग गर्ने प्रतिवद्घता जनाएपछि प्रहरी उनीहरूलाई छाडेको थियो । 

कमेन्टहरु