रामेछापमा मलामी बोकेको बोलेरो दुर्घटना हुँदा १५ जना घाइते, दुईको अवस्था गम्भीर

नवलपुर टुडे
२०८१ बैशाख १२ | मध्यान्ह ०५:०१ बजे

रामेछाप, वैशाख १२ । रामेछापको खाँडादेवी गाउँपालिका–४ सान्नेफेदीमा मलामी बोकेको बोलेरो दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
बुधबार दिउँसो पौने ३ बजेतिर खाँडादेवी–४ त्रिवेणीमा लास जलाएर घर फर्किएका मलामी बोकेको बा ६ च ९१६२ नम्बरको सिङ्गल क्यापको बोलेरो सान्नेफेदीमा दुर्घटना हुँदा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
अहिले घाइते सबैको सदरमुकाम मन्थलीस्थित मन्थली नगर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको प्रहरीले जनाइएको छ ।
बोलेरो चालक मन्थली नगरपालिका–७ भटौलीको मुगिटारका ३६ वर्षका अरुण माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।























