जनकपुरको पिडारी चोकस्थित नमुना होटेल एण्ड गेस्ट हाउसमा एक युवक मृत फेला


जनकपुरधाम, वैशाख १२ । जनकपुरको पिडारी चोकस्थित नमुना होटेल एण्ड गेस्ट हाउसमा एक युवक मृत फेला परेका छन् । धनुषाको गणेशमान चारनाथ नगरपालिका – ३ का २५ वर्षीय मित कुशियैत यादव मृत फेला परेका हुन् ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवा अनुसार मंगलबार साँझ ७ बजे कोठा नं. २०४ बुक गरेर बसेेका यादव राति ११ बजे झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनी झुण्डिएको कोठाको ढोका खुल्ला रहेकाे थियाे । उनलाई मृत देखेपछि होटल संचालकले प्रहरीलाई खबर गरेर भागेका थिए ।
यादव कतारबाट एक महिना अगाडि मात्रै विदामा आएका थिए । आगामी महिनाको ५ तारिखमा पुनः कतार जानका लागि टिकट समेत लिइसकेका थिए । होटल छाडेर भागेका संचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस अघि मंगलबार दिउँसो मात्रै जनकपुरको रामानन्दचोक स्थित होटल होलि डे एण्ड गेष्टहाउसमा एक महिला र एक पुरुष झुन्डिएको अवस्थामा मृत फेला परेका थिए ।























