कतारका अमिरलाई स्वागत गर्न राष्ट्रपति पौडल विमानस्थल जाने


काठमाडौं, वैशाख १० । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने भएका छन् । दुई दिने राजकीय भ्रमणका लागि भोलि नेपाल आउन लागेका राजा थानीलाई राष्ट्रपति पौडेलले विमानस्थलमा स्वागत गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
कतारका अमिर थानी मंगलबार बंगलादेशको ढाका हुँदै दिउँसो साढे ४ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ । उनको स्वागतका लागि सरकारले भोलि सार्वजनिक बिदा समेत दिएको छ । भ्रमणका क्रममा उनले राष्ट्रपति पौडेलसँग शितल निवासमा भेट गर्नेछन् । पौडेलले उनको सम्मानमा राजकीय भोजको समेत आयोजना गर्ने कार्यक्रम तय भएको छ ।
यस्तै, बुधबार बिहान कतारका अमिरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार वार्तापछि दुवै नेताले द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।
उनी ८० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आउन लागेका हुन् । कतारको प्रतिनिधिमण्डलमा १० जना कतारी मन्त्री समेत सहभागी हुनेछन् । राष्ट्रपति पौडेलको निमन्त्रणमा आउन लागेका उनी बुधबार फर्कने कार्यतालिका छ ।























