भारतबाट भन्सार छलि ल्याइएका सामान र गाडीसहित दुई जना पक्राउ


नवलपरासी, वैशाख १० । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं. १ महेशपुर चोकबाट भन्सार छलि ल्याउँदै गरेको सामान र गाडीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
आइतबार राती पौने १० बजेतिर भारतबाट नेपालतर्फ आउँदै गरेको बा १८ च ५०५३ नम्बरको कारलाई इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरी टोलीले रोकी चेकजाँच गर्ने क्रममा उक्त कारको डिक्की भित्र भन्सार छलि चोरी निकारी गरी लुकाई छिपाई ल्याइएको डोनल ग्रुप कफी मेसिन र कफी बिन ग्रिन्डर १ सेट बरामद भएको थियो । उक्त सामाग्रीको अन्दाजी मूल्य रू.४ लाख रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले कारसहित कार चालक कास्कीको पोखरा महानगरपालिका वडा नं. ३० सिसुवा बस्ने ३४ वर्षीय राज कुमार ताम्राकार र कारमा सवार सोही ठाउँका २९ वर्षीय सुदिप तिमिल्सेना समेतलाई नियन्त्रणमा लिईएको पश्चिम नवलपरासीका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए ।
नियन्त्रणमा लिइएको सामान र कारसहित चालक ताम्राकार र कारमा सवार तिमिल्सेनालाई ईलाका प्रहरी कार्यालय महेशपुरमार्फत आवश्यक
कारवाहीको लागि महेशपुर भन्सार कार्यालय नवलपरासीमा पठाइएको छ । थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।























