समाचार

प्यालेस्टाइन विद्रोहीको कब्जामा रहेका विद्यार्थीलाई सकुशल फर्काउन कूटनीतिक प्रयास भइरहेको छ : प्रधानमन्त्री 

नवलपुर टुडे
२०८१ बैशाख ९ | मध्यान्ह ०४:०१ बजे

काठमाडौं, वैशाख ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्यालेस्टाइन विद्रोहीको कब्जामा रहेका विद्यार्थीलाई सकुशल नेपाल फर्काउन सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहल गरेको बताएका छन् ।

आइतबार सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति उनले प्यालेस्टाइन विद्रोहीको आक्रमणमा परेर नेपाली विद्यार्थीले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरे ।

“सुदूरपश्चिम विश्वविद्यालयको कृषिविज्ञान संकायबाट ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल गएर काम गरिरहेको अवस्थामा हाम्रा विद्यार्थीहरूले प्यालेस्टाइन विद्रोहीको आक्रमणमा परेर ज्यान गुमाउनुपरेको घटनाले मलाई निकै दुःखी तुल्याएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “उक्त घटनामा परेर ज्यान गुमाउनुहुने विद्यार्थीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । उहाँका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।”

उक्त आक्रमणमा परेर घाइते भएका र अन्य प्रभावित विद्यार्थीलाई यथाशीघ्र स्वदेश फर्काउन र ज्यान गुमाउने विद्यार्थीहरुको शव फिर्ता ल्याउन सरकारले निर्वाह गर्नुपर्ने भूमिका तदारूकतापूर्वक निर्वाह गरेको उनले उल्लेख गरे ।

“अझै पनि एकजना विद्यार्थी विद्रोहीको कब्जामा रहेका छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “उहाँलाई सकुशल स्वदेश फर्काउन आवश्यक कूटनीतिक प्रयास भइरहेको छ ।”

कमेन्टहरु