पाल्पामा आगाे निभाउने क्रममा जलेर दुई जना घाइते


पाल्पा, वैशाख ९ । पाल्पामा शनिबार लागेकाे आगाे निभाउने क्रममा दुई जना घाईते भएका छन् । जिल्लाकाे रैनादेवी छहरा गाउँपालिका – १ सिद्धेश्वरमा एक जना र माथागढी गाउँपालिका – ४ झडेवामा एक जना घाइते भएका हुन् ।
शनिबार दिउँसोदेखि लागेको आगो निभाउने क्रममा रैनादेवी छहरा–१, का ५५ वर्षका टोपबहादुर बुढा गम्भीर घाइते भएका छन् । उनको थप उपचारका लागि तानसेनस्थित अस्पतालमा रिफर गरिएको रैनादेवी छहरा–१ का वडा अध्यक्ष सोमबहादुर दर्लामीले जानकारी दिए ।
सिद्धेश्वरको साउने, मन्द्रान, मोहरे क्षेत्रमा शनिबार बिहानैदेखि आगलागी भएको थियो । आगलागीबाट स्थानीय भरिवश्वर पाण्डेय र रामनाथ पाण्डेको घर गोठ जलेर नष्ट भएको छ । सिद्धेश्वर क्षेत्रमा लागेको आगो अझै नियन्त्रणमा आउने सकेको छैन ।
यस्तै, माथागढी–४, जामुनडाँडामा आगो निभाउने क्रममा स्थानीय ६५ वर्षका पूर्णबहादुर काम्मु घाइते भएका छन् । काम्मुको अवस्था भने सामान्य रहेको माथागढी गाउँपालिकाका प्रवक्ता शङ्कर दर्लामीले जानकारी दिए । स्थानीय खमीसरा काम्मुको गोठबाट सल्केको आगोले पाँच जनाको घर गोठ जलेर पूर्ण रूपमा नष्ट भएको थियो ।
घर गोठमा लागेको आगो नियन्त्रणमा आए पनि उक्त आगो जङ्गलमा पसेको र अझैँ नियन्त्रणमा आउन नसकेको दर्लामीले जानकारी दिए ।























