समाचार

नेसनल पेमेन्ट गेटवे प्रकरण : मधु मरासिनीसहित ८ जनाले पाए सफाइ, सुनील पौडेल दोषी ठहर

नवलपुर टुडे
२०८१ बैशाख ७ | मध्यान्ह ०६:०१ बजे

काठमाडौं, वैशाख ७ । नेसनल पेमेन्ट गेटवे प्रकरणमा नेपाल सरकारका तत्कालीन सचिव मधु मरासिनीलाई विशेष अदालतले सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले शुक्रबार मरासिनीलाई सफाइ दिएको हो ।

नेशनल पेमेन्ट गेटवे प्रकरणमा दोषी देखाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मरासिनीसहित ९ जनाविरुद्ध गत असोजमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । प्रतिवादी बनाइएका ९ जना मध्ये ८ जनाले सफाइ पाएका छन् भने प्रतिवादी सुनील पौडेललाई भने सजायँ ठहर भएको छ । उनीविरुद्धको सजाय भने वैशाख २५ गते तोक्नेछ।

अख्तियारले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन उपसचिव तथा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक तथा उपनिर्देशक सफल श्रेष्ठ, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन सहायक निर्देशक रमेशप्रसाद पोखरेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत निमबहादुर वली र रामबहादुर बुढा, राष्ट्रिय सूचना प्रविधि केन्द्रका कम्प्युटर इन्जिनियर रामशरण गायकलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाका तत्कालीन महाशाखा प्रमुख रही तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव रहेका मरासिनीलाई पनि अख्तियारले विपक्षी बनाएको थियो ।

उनीहरुले नेपाल सरकार र सार्वजनिक संस्थाको सम्पत्तिको लापरबाही तथा बद्‌नियत गरी २३ करोड २७  लाख ५८ हजार ७७ रुपैयाँ हानि नोक्सानी गराएको पुष्टि भएको दाबी गर्दै अख्तियारले उनीहरुविरुद्ध मुद्दा दायर गरेको थियो । 

कमेन्टहरु