दाङमा आगलागी हुँदा ८७ वर्षीय वृद्धको मृत्यु, तीन ओटा घरगोठ जलेर नष्ट


बुटवल, बैशाख ७ । दाङको लमही नगरपालिका वडा नम्बर ९ तरूलियामा आगलागी हुँदा ८७ वर्षीय वृद्धको जलेर मृत्यु भएको छ । तरुलिया निवासी अन्दाजी ८७ वर्षीय बिरबहादुर बोटेको मृत्यु भएको हो ।
घरमा राखेको सलाई बच्चाले खेलाउने क्रममा अागलागी भएको बुझिएको छ । आगलागीबाट दुई घर र एक गोठ जलेर नष्ट भएको छ । बिहीबार बेलुका ५ बजे जितबहादुर बोटेको घरबाट फैलिएको आगो नजिकै रहेको बिरबहादुर बोटेको घर र एक गोठमा समेत सल्किएको प्रहरीले जनाएको छ ।
बिहीबार केटाकेटी सलाईसँगै खेल्ने क्रममा घरमा एक्कासी खरले छाएको जितबहादुर बोटेको घरमा आगलागी भएको थियोे । सोही क्रममा घर भित्र रहेका अत्यावश्यक कागजात लिन गएका बेला बिरबहादुर बोटेको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ । घरमा आगो लागेको स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।
आगलागीबाट घरमा रहेको खाद्यान्न, लत्ताकपडा, भाडाकुडा जलेर नष्ट भएको छ । लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आइनसकेको प्रहरीले जनाएको छ ।























