भद्रकालीमा भिक्षुमाथि लात्ती प्रहार गर्ने प्रहरीलाई विभागीय कारबाही


काठमाडौं, चैत २६ । शनिबार काठमाडौंको भद्रकालीमा बौद्ध भिक्षुमाथि लात्ती प्रहार गर्ने प्रहरीलाई विभागीय कारबाही गरिएको छ । नेपाल प्रहरीले आइतबार सूचना जारी गर्दै भिक्षुमाथि दुर्व्यवहार भएकोबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘चैत २४ गते काठमाडौं, भद्रकाली (निषेधित क्षेत्र) मा प्रहरी कर्मचारीद्वारा एक भिक्षुमाथि भएको दुर्व्यवहारको सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । साथै, उक्त घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय कारबाही प्रक्रिया अगाडि बढाइ सकिएको व्यहोरा समेत जानकारी गराउँछौं,’ प्रहरी मुख्यालयले जारी गरेको सूचनामा भनिएको छ ।
शनिबार राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानले भद्रकाली क्षेत्रमा गरेलो प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा बाटो हिँड्दै गरेका बोद्ध भिक्षुमाथि प्रहरीले लात्ती प्रहार गरेको थियो ।























